२०८१ चैत्र १ गते शनिवार | 2025 March 15th Saturday

फिफा विश्वकप-२०२२ फुटबलको खेल तालिका सार्वजनिक

टिकटको मूल्य ४० कतारी रियालदेखि २ हजार २ सय ५० रियालसम्म
Photo -QFA

दोहा– कतारमा यस वर्ष आयोजना हुने फिफा विश्वकपको खेल तालिका फिफाले सार्वजनिक गरेको छ । फिफाले विश्वकप २०२२ प्रतियोगिताको आधिकारिक मस्कटसँगै दोस्रो चरणको टिकट बिक्री मंगलबारबाट खुला गर्ने जनाएको छ ।

 

सार्वजनिक गरिएको तालिका अनुसार उद्घाटन सत्रमा फरक फरक चार वटा स्टेडियममा एकै समयमा खेल खेलाइने भएको छ । ग्रुप ‘ए’ मा रहेको आयोजक राष्ट्र कतारले उद्घाटन खेलमा इक्वेडरसँग आगामी नोभेम्बर २१ तारिखमा अल बायत स्टेडियम अलखोरमा खेल्दै छ भने सोही ग्रुपबाट सेनेगलले नेदरल्याण्ड्ससँग अल थुमामा स्टेडियममा खेल्ने छ । त्यस्तै इंग्ल्यान्डले इरानसँग खलिफा इन्टरनेशनल स्टेडियममा र अमेरिकाले युरो प्ले अफसँग अहमद बिन अलि स्टेडियममा खेल्नेछ ।

 

सार्वजनिक तालिका अनुसार नोभेम्बर २२ मा ग्रुप ‘सी’ मा रहेका अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सिको र पोल्यान्डबीच खेल हुनेछ । सोही दिन ग्रुप ‘डी’ मा रहेका फ्रान्स र आइसी पेले अफ वान बीच खेल हुनेछ भने डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २३ मा ग्रुप ‘इ’ अन्तर्गत रहेका स्पेन र आइसी पेले अफ टु तथा जर्मनी र जापान भिड्ने छन् भने ग्रुप ‘एफ’ मा रहेका बेल्जियम र क्यानडा तथा मोरोक्को र क्रोएसिया भिड्ने छन् ।

 

यस्तै नोभेम्बर २४ मा ग्रुप ‘जी’ मा रहेको ब्राजिल र सर्बिया तथा स्विजरल्याण्ड र क्यामरुन भिड्ने तालिका छ । ग्रुप ‘एच’ मा रहेको पोर्चुगल र घाना तथा उरुग्वे र दक्षिण कोरिया पनि सोही दिनमा भिड्ने तालिका सार्वजनिक भएको छ ।

 

खेल तालिकासँगै फिफाले कतारमा रहेका आप्रवासी कामदारका लागि दोस्रो पटक मंगलबार दिउँसो १२ बजेबाट लागू हुने गरी टिकट बिक्री खुला गर्ने भएको छ । अप्रिल २८ तारिख दिउँसो १२ बजेसम्म खुला रहने टिकट बिक्री व्यक्तिगत, समर्थक, सशर्त समर्थक र चार रंगशाला शीर्षकमा टिकट उपलब्ध हुने फिफाले जनाएको छ । टिकटको मूल्य ४० कतारी रियालदेखि २ हजार २ सय ५० रियालसम्म तोकिएको छ । यसरी बुकिङ गरिएको टिकटको नतिजा फिफाले ३१ मे मा इमेल मार्फत जानकारी दिने भएको छ ।

No description available.

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस