दोहा, कतार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाले आफ्नो चौंथो अधिवेशन, साथै आठौं वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त कार्यक्रम आगामी १४ नोभेम्बर २०२५ (शुक्रबार) का दिन फुलबारी स्पाइस नेपाली रेस्टुरेन्ट, सनैयामा आयोजना दिउँसो १२:१५ बजेबाट सुरु हुने छ।
संस्थाका अध्यक्ष शिवराम ढकाल र सचिव कृष्ण दलामीद्वारा जारी सुचना अनुसार, अधिवेशनले कतारमा रहेका नेपाली कलाकारहरूलाई एकताबद्ध गर्दै मौलिक लोक संस्कृति र दोहोरी परम्पराको संरक्षण तथा प्रवर्द्धनमा नयाँ उर्जा दिने जनाइएको छ ।
“हाम्रो अभियान-लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने नाराका साथ स्थापनाकालदेखि नै क्रियाशील यो संस्थाले कतारमा नेपाली लोकसंस्कृतिको पहिचान स्थापित गर्न उल्लेखनीय योगदान गर्दै आएको छ।
आगामी अधिवेशनमा नयाँ नेतृत्व चयनसँगै सांस्कृतिक प्रस्तुति, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिने संस्थाले जनाएको छ।