२०८२ पुष १ गते मङ्गलवार | 2025 December 16th Tuesday

फ्यान जोनमा नेपाली मौलिक प्रस्तुति, सुप्रीम कमिटीको प्रशंसा

दोहा ।कतारमा जारी “फिफा U17” र “अरब कप” को रौनकका बीच आज साँझ फिफा फ्यान जोन, एस्पायर जोनमा नेपाली समुदायले आफ्नो मौलिक संस्कृति र पहिचान झल्काउने उत्कृष्ट प्रस्तुति दिएको छ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारको तर्फबाट गरिएको यस प्रस्तुतिले नेपाली परम्परा, पोशाक र कलाको सुन्दर मिश्रण मार्फत दर्शकहरूको मन जित्यो।
आजको कार्यक्रममा नेपाली कलाकारहरूले दुई प्रकारका नृत्य प्रदर्शन गरे — पहिलोमा लोक शैलीमा आधारित सांस्कृतिक नृत्य र दोस्रोमा नेपालीपन झल्काउने फ्युजन प्रस्तुति समावेश थियो।
कार्यक्रममा सहभागी कलाकारहरू रोहित बस्नेत, मिलन गुरुङ ‘जोजो’ बिशाल नेपालि, सृष्टि तामाङ, कुमारि तामाङ, सरिता बान्तवा रहेका थिए। उनीहरूले आकर्षक ताल, भाव र मौलिक पोशाकका साथ नेपाली संस्कृतिको रंगीन झल्को प्रस्तुत गरे।
सुप्रीम कमिटी फर डेलिभरी एन्ड लेगेसीकी इभेन्ट म्यानेजर यारा मुसा र अफिसर अहमद अल साविथ त्यसैगरी इभेन्ट कोअर्डिनेटर ड्यानिस फा ले नेपाली कलाकारहरूको प्रस्तुति र मौलिक पहिरनको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनहरूमा पनि सुप्रीम समिटीको तर्फबाट हुने इभेण्टहरुमा नेपाली सांस्कृतिक प्रस्तुतिलाई निरन्तर रूपमा समावेश गरिने बताएका छन्।
कार्यक्रमको सहजीकरण एनसिसी कतारका प्रथम उपाध्यक्ष रोशन अर्यालले गरेका थिए। एनसिसी कतारका कला तथा सांस्कृतिक विभाग संयोजक ईशान रेग्मीले जानकारी दिँदै भने, “कतारमा फिफा र अरब कपजस्ता ठूला अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपाली मौलिक संस्कृति प्रस्तुत हुनु सम्पूर्ण नेपाली समुदायको गौरवको विषय हो।”
फिफा फ्यान जोनमा आज साँझ ५ बजेदेखि ८ बजेसम्म चलेको कार्यक्रममा दोहास्थित नेपाली संघ–संस्था प्रमुख, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीलगायत ठूलो संख्यामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस