२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

नेपाली दूतावास दोहा कतार द्वारा विशेष पासपोर्ट नवीकरण सेवा सञ्चालन गर्ने

दोहा , कतार

नेपाली दूतावास  दोहा कतारले अक्टोबर ४ तारिख, शुक्रबारको लागि विशेष पासपोर्ट नवीकरण सेवा प्रदान गर्ने सुचना जारी गरेको छ । पछिल्ला महिनाहरूमा पासपोर्ट नवीकरणको चाप अत्यधिक बढेका कारण कतिपय नेपाली श्रमिकहरूले अनलाइन एपोइन्टमेन्ट पाउन नसक्दा आफ्नो कतारी आइडी र पासपोर्ट नवीकरणमा कठिनाइ झेलिरहेका थिए। यस समस्याको समाधान गर्न दूतावासले विशेष व्यवस्था गरेको हो।

दूतावासले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म नवीकरण सेवा उपलब्ध गराउनेछ, जसमा श्रमिकहरूले अनलाइन एपोइन्टमेन्ट बिना पनि सहभागी हुन पाउनेछन्। विशेषत: कतारी आइडी र नेपाली राहदानीको म्याद सकिएका श्रमिकहरूलाई लक्षित गरिएको यो सेवाले श्रमिकहरूको समस्या समाधान गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

पछिल्ला पाँच महिनादेखि अपोइन्टमेन्ट स्लट नपाएपछि श्रमिकहरूले पासपोर्ट नवीकरणमा कठिनाइ भोग्दै आएका थिए। यस समस्यालाई सम्बोधन गर्न विभिन्न संघसंस्था र सरोकारवालासँग छलफल गरेपछि दूतावासले यो विशेष कार्यक्रमको आयोजना गरेको हो।

दूतावासले शुक्रबारको सेवाप्रतिको प्रतिक्रिया र चाप हेरेर आगामी दिनहरूमा पनि यस्ता सेवाहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ। नेपालबाट विशेष टोली छिट्टै कतार आउन लागेको र यसले पासपोर्ट नवीकरणमा देखिएको समस्याको शीघ्र समाधान गर्ने आशा गरिएको छ

 

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस