२०८२ चैत्र २९ गते आइतवार | 2026 April 12th Sunday

प्रेम प्रसाद भट्टराईलाई ‘नवोदित कृती अवार्ड २०८२’

दोहा  कतार – नवोदित साहित्यिक वाचनालय कतारले प्रदान गर्ने ‘नवोदित कृती अवार्ड”  यस वर्ष साहित्यकार प्रेम प्रसाद भट्टराईलाई प्रदान गरिएको छ। उनको गीति संग्रह ‘अरब’ लाई उत्कृष्ट कृति घोषणा गर्दै सम्मानपत्र, ट्रफी र रु. ५,५५५ नगद पुरस्कारसहित यो अवार्ड प्रदान गरिएको हो।

२०८० सालमा साझा प्रकाशनद्वारा प्रकाशित ‘अरब’ गीति संग्रहले भट्टराईलाई यो अवार्ड दिलाएको हो। पुरस्कार वितरण कार्यक्रम २०२५ जुलाई १८ शुक्रबार, कतारको मुन्तजा पार्क नजिकै गोर्खाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको नवोदित साहित्यिक वाचनालय कतारको १७औँ अधिवेशनको अवसरमा आयोजना गरिएको थियो।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी–१४ (साविक बुईपा–८, राम्चे) मा जन्मिएका भट्टराई हाल भक्तपुरको सूर्यविनायक–५, प्रगति चोकमा बसोबास गर्दै आएका छन्। पुरस्कार ग्रहणपछि उनले भने, “यो सम्मान मेरो साहित्यिक यात्राको सुनौलो र अविस्मरणीय क्षण हो। यो अवार्डले मलाई खुसीभन्दा बढी जिम्मेवारी थपिएको महसुस भएको छ। म सधैँ नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समर्पित रहनेछु।”

साहित्यकार भट्टराईले ‘सावित्री’ (गीतिकाव्य, २०६८), ‘प्रतीक’ (गजल संग्रह, २०६९), ‘कृपा’ (डीभीडी एल्बम, २०७२), ‘सडकका कुरा’ (मुक्तक संग्रह, २०७५), र ‘धर्मानन्द भट्टराई’ (शोककाव्य, २०७७) जस्ता कृतिहरू प्रकाशित गरिसकेका छन्। साथै, उनी ‘सन्देश’ वार्षिक पत्रिका (खोटाङ सेवा समाज कतार) का प्रधान सम्पादक र ‘खोटाङका गजलहरू’ (सामूहिक गजल संग्रह) का सम्पादक एवं प्रकाशक हुन्।

भट्टराई अनेसास शिखर पुरस्कार कतारका अध्यक्ष, सन्ध्या ग्रुप अलखोर कतारका संरक्षक, खोटाङ सेवा समाज कतारका संरक्षक संयोजक, हुन्। साथै,  नवोदित साहित्यिक वाचनालय कतार, कोशी प्रदेश समन्वय परिषद कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका  सल्लाहकार हुन् , साथै  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,साहित्य पत्रकार शंघ नेपाल ,   हिमालय अनलाइन रेडियो ,  गोधुली साहित्य  प्रतिष्ठान नेपाल , हातेमालो साहित्य प्रतिष्ठान लगायत आधा दर्जन बढी सस्थामा आजिबन सदस्य छन्

यसअघि यो पुरस्कार महेन्द्र अदृश्य राई, भानु सुनुवार, लेख कार्की, विनोद खड्का, मीनराज वसन्त, होम कार्कीशोभाराम ओली जस्ता सशक्त नवोदित साहित्यकारहरूले प्राप्त गरिसकेका छन्।

यस अवार्डमार्फत प्रेम प्रसाद भट्टराईको साहित्यिक योगदानलाई अझ व्यापक रूपमा उजागर गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस