२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन शुक्रबार हुने

दोहा, कतार : बागलुङ सेवा समाज कतारले स्थापना गरेको “बहुउद्देश्यीय अक्षयकोष”को प्रथम अधिवेशन हुने भएको छ। एक करोड रुपैयाँ अक्षयकोष पुर्‍याउने लक्ष्यसहित २०८१ सालमा स्थापित अक्षयकोषको अधिवेशन आउँदो शुक्रबार हुने भएको हो।

कतारमा विभिन्न पेशा र व्यवसायमा संलग्न बागलुङमा जन्मिएका व्यक्तिहरूको सक्रियतामा स्थापित “बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोष”को पहिलो अधिवेशन आउँदो शुक्रबार मुन्तजास्थित होटेल होलिडे भिल्लामा दिउँसो १२ बजेदेखि सांगीतिक प्रस्तुतिसहित सुरु हुनेछ।

अधिवेशनलाई थप आकर्षक बनाउन नेपालबाट युवा लोक तथा दोहोरी गायक रेशम निर्दोष र बहुमुखी गायिका सिम्रन परियारले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिएअनुसार अधिवेशनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्।

अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलले हालसम्म ५६ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको जानकारी दिएका छन्। कोषको लक्ष्य एक करोड रुपैयाँ पुर्‍याउने रहेको र यसका लागि अभियानलाई तीव्र पारिएको उनले बताए। गैरआवासीय नेपाली संघका अभियन्ता राज रेग्मी (राजु) ले १० लाख र राजेन्द्र कुमार शर्मा (आरके) ले ५ लाख रुपैयाँ सहयोग गरेका छन्, जसको पुर्ख्यौली थलो बागलुङ नै हो। बागलुङ सेवा समाजमा आबद्ध अन्य धेरै व्यक्तिहरूले पनि एक लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्। यसका साथै, समाजका प्रतिनिधि तथा समाजसेवीहरूले पनि कोषका लागि सहयोग गर्ने क्रम जारी रहेको छ।

कोषको मुख्य उद्देश्यबारे प्रष्ट पार्दै संयोजक पौडेलले भने, “हाम्रो अभियानको मुख्य लक्ष्य भनेको बागलुङ जिल्लामा आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् र कुनै पनि नागरिकले औषधि उपचारको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हो।”

“सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापित अक्षयकोषले कोषले स्वास्थ्य र शिक्षामा २५-२५%, खेलकुद र दैवी प्रकोप/आपतकालीन क्षेत्रमा २०-२०% र कला, साहित्य र संस्कृतिमा १०% सहयोग गर्नेछ । यस कदमले विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।”

अधिवेशनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ र कार्यक्रमलाई भव्य र सफल बनाउन दोहामा रहेका सम्पूर्ण बागलुङवासी तथा इच्छुक सबैलाई उपस्थितिका लागि संयोजक पौडेलले आग्रह गरेका छन्। आयोजकका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

बागलुङ सेवा समाज कतारले कतारमा रहेका बागलुङवासीलाई एकजुट गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस अक्षयकोषको स्थापनाले बागलुङ जिल्लाको विकासमा थप महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस