२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

कतारमा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछारको रौनक: अल दोसरीमा भव्य सांस्कृतिक कार्यक्रम हुने

दोहा, कतार ।

“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापित नेपाल प्रवासी तामाङ समाज कतारले यस वर्ष मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार (ता ल्हो – घोडा वर्ग) को अवसरमा विशेष शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

“तामाङ संस्कार र संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौँ” भन्ने सन्देशसहित आगामी २३ जनवरी २०२६ (शुक्रबार) का दिन कतारको अल दोसरी, जु–सहानिया मा बिहान ११:०० बजेदेखि यो उत्सव मनाइनेछ।

ऐतिहासिक र सांस्कृतिक प्रस्तुति

कार्यक्रममा तामाङ जातिको पहिचान झल्काउने मौलिक सेलो, डम्फु र म्हेन्दोमाया नृत्यका साथै विशेष आकर्षण प्रस्तुत गरिनेछ। संस्थाका महासचिव श्री पाख्रिङ तामाङका अनुसार कार्यक्रममा नेपाली तथा मौलिक तामाङ परिकारहरूको विशेष व्यवस्था गरिएको छ, जसले सहभागीहरूलाई आफ्नै गाउँघरको न्यास्रो मेट्ने अवसर प्रदान गर्नेछ।

नेतृत्वको सन्देश र सहभागिताको अपिल

संस्थाका अध्यक्ष सुबास तामाङले प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतिलाई बचाई राख्नु सबैको दायित्व भएको बताउँदै कतारमा रहेका सम्पूर्ण तामाङ तथा गैर-तामाङ नेपाली समुदायलाई यस गौरवमय कार्यक्रममा सहभागी भईदिन हार्दिक अपिल गर्नुभएको छ। उहाँले यस कार्यक्रमले समुदायबीच आपसी सद्भाव र एकतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, २८६२ सोनाम ल्होछार मूल समारोह समितिका सूचना तथा प्रचार–प्रसार संयोजक मिलन स्याङ्तान तामाङले ल्होछार पर्व तामाङ जातिको सांस्कृतिक एकताको प्रतीक भएको बताउँदै सबैको सक्रिय सहभागिताले कार्यक्रमलाई ऐतिहासिक बनाउने विश्वास दिलाउनुभयो।

यातायात र सम्पर्क

आयोजकले दोहा कतारको हरेक कुनाबाट सहभागीहरूका लागि नि:शुल्क यातायातको व्यवस्था गरेको छ। थप जानकारीका लागि यातायात संन्जय पाख्रिन – 74787084 लगायत तल दिएका नम्बर मा सम्पर्क गर्न सकिनेछ।

नेपाल प्रवासी तामाङ समाज कतारले सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा तामाङ ज्यो–ज्यो, आले–नाना र आङाहरूलाई सोनाम ल्होछारको यस अवसरमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

 

 

प्रकाशित मिति : २०८२ माघ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस