दोहा, कतार । कतार नेपाली एकता समाज केन्द्रीय समितिद्वारा आयोजित आन्तरिक बनभोज तथा सांस्कृतिक कार्यक्रम भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। आपसी एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार खिम बुढा मगर रहनुभएको थियो। त्यस्तै विशिष्ट अतिथिहरूमा एकता समाजका सचिव बलदेव राना, वक्रा एरिया समितिका अध्यक्ष मीनबहादुर बी.के., ग्राण्ड मल एरिया समितिका अध्यक्ष सन्तोष सुनार, रक्तिम विभागका अध्यक्ष विमल भुसाल, महिला विभागकी संयोजक हिरा शर्मा, बुद्धिजीवी विभागका संयोजक मिलन गौतम तथा युगदर्शन साप्ताहिकका पत्रकार उद्धव मगरलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि तथा मञ्चमा आसिन अतिथिहरूबाट संयुक्त रूपमा ब्यानर उद्घाटन गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो। यस अवसरमा देश र युग परिवर्तनका लागि अमूल्य बलिदान दिने सहिदहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि संस्थाका कोषाध्यक्ष लक्ष्मण कोइरालाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको सांस्कृतिक सत्रमा रक्तिम परिवारको सांस्कृतिक टोलीले देश, समाज र जनताप्रतिको चेतना, संघर्ष र उद्देश्य झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। ती प्रस्तुतिहरूले उपस्थित दर्शकहरूलाई भावनात्मक रूपमा जोड्दै कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मिनराज पुनले सशक्त र प्रभावकारी ढंगले गर्नुभएको थियो। अन्त्यमा कार्यक्रमलाई सफल, व्यवस्थित र गरिमामय रूपमा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने एरिया, इकाइ, विभागीय प्रतिनिधि तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरिएको थियो।