२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

समीक्षा: सजग दृष्टिकोण र सामूहिक यात्रा

दोहा । गत २८ वर्षको मेरो कतार बसाइँ र सामाजिक अभियानको यात्रामा अनेकौं आरोह–अवरोह आए। यस लामो यात्रामा कहिले व्यक्तिगत कारणले, कहिले संस्थागत कारणले कमजोरीहरू पनि भएका होलान्।

 

सामाजिक अभियान र पत्रकारिताको माध्यमबाट कतिले न्याय पाए, कतिलाई असुविधा पनि पुगेको हुन सक्छ। कहिलेकाहीँ व्यक्तिको चरित्रमा आघात पुगेको अनुभव पनि कसैले गरेको हुन सक्छ, भने कतिले त्यसैबाट समाज सुधारतर्फ अझ सशक्त प्रेरणा लिएका पनि छन्।

 

समग्रमा हेर्दा, कुनै प्राविधिक कमजोरी वा असावधानीका कारण कसैको क्षति वा फाइदाको आधारमा मानिसहरूलाई ‘नायक’ वा ‘खलनायक’का रूपमा परिभाषित गर्नु उचित हुँदैन।

 

म सदैव लामो बहसमा नजाने, समाज र सामाजिक अभियानलाई क्षति नपुगोस् भन्ने आत्मसमीक्षात्मक दृष्टिकोणबाट अघि बढ्ने पक्षमा छु। यही आत्मबोध मेरो मार्गदर्शन बनेको छ, र भविष्यमा पनि यही मार्गमा अघि बढ्ने प्रेरणा मभित्र कायम छ।

 

पत्रकारको समाचार वा विचारले सबैलाई एकैपटक र समग्रमा न्याय दिन सक्दैन। यो कुनै नौलो वा पहिलो परिघटना पनि होइन। तर कहिलेकाहीँ अथक प्रयास र सतर्कताका बाबजुद प्राविधिक कारणले “चुक” हुन सक्छ।

 

यही बोधका आधारमा गत अक्टोबर ११ मा प्रकाशित (“अभियन्ताहरूले सिकाउनै पर्ने संयमता कि विद्वैश!” शीर्षक) समाचार आपसी संवाद र सौहार्दिकता अनुसार हटाइएको छ।

 

उक्त समाचारको उद्देश्य सचेतनाको प्रयत्नमा आधारित भएपनि, प्राविधिक दृष्टिले “चुक” भएको कुरा स्वीकार गर्दै सम्बन्धित पक्षलाई पुगेको असुविधाप्रति म गहिरो दुःख व्यक्त गर्दछु।

 

हामी सबै समाजका अविभाज्य हिस्सा हौं। हाम्रा राम्रा र कमजोरीका पक्षहरू पनि समाजकै अंग हुन्। त्यसैले निरन्तर समीक्षा, आत्मसमीक्षा र आपसी सद्भावका साथ अघि बढ्नु नै हाम्रो सामूहिक दायित्व हो।

 

अन्त्यमा,

हालै सम्पन्न विजयादशमीका साथै आगामी तिहार, छठ, नेपाल संवत् तथा अन्य सम्पूर्ण नेपाली सांस्कृतिक तथा धार्मिक पर्वहरूको पावन अवसरमा विश्वभर रहेका आस्थावान दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

 

यी पर्वहरूले हामी सबैमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ प्रगाढ बनाओस् भन्ने शुभकामना व्यक्त गर्दछु।

 

धन्यवाद।

करिम बक्स मियाँ दोहा, कतार

२०२५ अक्टोबर

 

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस