
हालै अनलाइन पोर्टल Mulpatra.com मा प्रकाशित एउटा लेखमा कतारस्थित नेपाली दूतावासका पूर्व–प्रथम सचिव कृषु क्षत्रीमाथि कतारमा रहँदा “अकूत सम्पत्ति आर्जन” गरेको भन्ने भ्रामक समाचार पढें।
समाचारमा भनिएको छ” कतारस्थित नेपाली राजदूतावासमा प्रथम सचिव कृष्ण कुमार सुवेदी कार्यरत हुँदा क्षेत्रीले त्यसैलाई कमाउने भाडो बनाएको गुनासो नेपालीहरुले गरेका थिए । यतिसम्म किन उनले विचौलिया, दलालहरु खडा गरेर नेपाली कामदारहरुबाट रकम असुल्ने प्रमुख पात्र सुवेदी रहेको आरोप लागेको थियो । उनी गत साउनमा नेपाली फर्किएका हुन् ।”
“क्षेत्रीले कतारका एनआरएनएसँग मिलेर डिजिटल भुक्तानीको व्यवस्था गर्नबाट सेवाग्राहीलाई बञ्चित बनाए करोडौं ठगि गरेको त्यहाँ रहेको विभिन्न संघसंस्थाको आरोप रहेको” दावी गरिएको छ साथै सरकारी साधनको दुरुपयोग गरि खाडी भ्रमण लगायतका आरोप लगाइएको छ।
सर्वप्रथम समाचारमा दावी गरिएका आरोप सत्य हुन्थे भने क्षत्रीले आफ्नो कतारको कार्यकाल सकेर फर्किएको करीए तीन महिनापछि अपुष्ट समाचार बनाउनुको अर्थ के होला?
म करीव करीव कृशु क्षत्रीसँग नजिक रहेर काम गरें एउटा पत्रकारको रुपमा र नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षको हैसियतमा समेत। क्षत्री कतारस्थित नेपाली दूतावासको जिम्मेवार अधिकारीको भुमिकामा रहँदा सबैभन्दा बढी उनको आलोचना गर्ने र उनीसँग तकरार गर्ने व्यक्तिको रुपमा कतारमा मेरो परिचय बनेको छ।
क्षत्रीका व्यक्तिगत शैली जस्तै: उनको छुचो स्वभाव, कतिपय अवस्थामा दुतावासको जिम्मेवार अधिकारी हुनुको दायरा बिर्सने जस्ता विषयमा उनीप्रती मेरो सधैं तकरार रहयो। स्वभाव र शैलीमा मेरा “रिजर्भेसन” रहेपनी उनको जनउत्तरदायी भुमिका भने सधैं चुस्त रह्यो। दूतावासमा उनी हुँदा आम श्रमिकदेखि विभिन्न संघ संस्थाहरुसँग उनको संवन्ध र सम्पर्क क्षमता सधैं राम्रो रहेको थियो।
उनी दूतावासमा रहँदा श्रमिक सम्वन्धी, सामाजिक संघ संथा सम्वन्धी, व्यक्तिगत वा सामुदायिक मुद्दा र समस्याहरु समाधान गर्न उनले खेलेको सकारात्मक भुमिका र सहजीकरणको लामै फेहरिस्त दिन सकिन्छ।
म जस्तै, केही व्यक्ती उनी उनको कार्यशैलीप्रति सहमत नहुन सक्छन् । यद्यपि करीव ४ वर्षको उनको कार्यकालभरी सबैभन्दा बढी संघ संस्थाले उनीसँग मिलेर काम गरेको ईतिहास छ। यस्तोमा उनी कतारबाट विदा भएर गएको महिनौंपछी कतारका कुन संस्थाहरुले उनी आर्थिक अपारदर्शी भएको र दूतावास र पदको आडमा मनग्ये पैसा कमाएको आरोप लगाएछन् भनेर सोध्न मन लाग्यो, पक्कैपनी मुलपत्रले जिज्ञासा मेटाईदेला नै।
कतारस्थित नेपाली समुदायका धेरै सदस्यहरूले क्षत्रीको कार्यकाललाई “सक्रिय र सहयोगमुखी”का रूपमा सम्झन्छन्। उनी आपतकालीन अवस्थाका श्रमिक उद्धार, दुर्घटनामा सहयोग, र सामाजिक कार्यक्रमहरूमा अग्रणी भूमिका खेल्ने व्यक्तिका रूपमा चिनिन्छन्।
त्यसैबीच, केही व्यक्तिहरूले दूतावास सेवाको कठोरता प्रति असन्तोष प्रकट गरे पनि त्यो प्रशासनिक कार्यशैलीको विषय हो, आर्थिक अनियमितता होइन भन्ने कुरामा कतारका समग्र संघ संघठनहरु स्पष्ट छन्।
चारवर्षसम्म कतारको नेपाली समुदायले चाल पाउन नसकेको क्षत्रीको कथित बिठ्याईं मुलपत्रले कसरी थाहा पाउन सफल भयो त्यसको पुष्टि हुने तथ्यपनि बताईदेला भन्ने अपेक्षा राख्दछु।
मपनि एक पुरानो र कतारमा अगुवा मध्येकै हुँ भन्ने मेरो दावी हो। तसर्थ “बासी मसला हालेको ताजा तिहुन” जस्तो भ्रामक र तथ्यहीन समाचार पस्केर अतिरन्जना फैलाउन कुन संगठनका अगुवाहरूको कथनलाइ सापटी वा साभार लिएर समाचार बनाइएको होला त्यो पनि जान्न मन लागेको छ।
व्यक्तिगत सम्बन्ध राम्रो वा नराम्रोको आधारमा यदि आरोप नै लगाउने हो भने कृषु क्षत्रीप्रती रोष प्रकट गर्न मलाई सजिलो थियो, लाटो गाउँको गाँडो तन्नेरी भने झैं म पनि सानोतिनो पत्रकार नै हुँ। तर मलाई के थाहा छ भने वैचारिक, व्यवहारिक वा विषयगत मतभिन्नता र फरक दृष्टिकोणको आधारमा कसैले कसैलाई आरोप लगाउनु न मान्छेको धर्मभित्र पर्दछ न त पत्रकारिताको नैतिकता भित्र।
मूलपत्रको समाचारको मूल आशय र भावलाई जडैदेखी घोत्लिएर निष्कर्ष निकाल्दा क्षत्रीमाथि जुन राजनीतिक आस्थाप्रती झुकाव राख्ने गरेको आरोप लगाइएको छ, समाचारका पंक्तिकार ठिक विपरीत र प्रतिस्पर्धी राजनितीक आस्थामा झुकाव राख्ने व्यक्ती हुन् भन्न रत्तिभर दुविधा छैन। तसर्थ म समाचारलाई राजनीतिक पुर्वाग्रही मानसिकताको प्रभावले लेखिएको “अतिरन्जना पुर्ण मित्थ्या”भन्न सक्दछु। अपभ्रम्षित भएर भन्नू पर्दा यस्ता प्रकारका समाचारले मुलपत्र लाई “मलपत्र” मा रुपान्तरण गर्न सकिन्छ।
अन्त्यमा यतिमात्र भन्न चाहन्छु:
कुनै पनि मिडियाले जब व्यक्तिको चरित्र र ईमानदारीमाथि प्रमाणबिना आक्रमण गर्छ, त्यसले न केवल उनको व्यक्तिगत प्रतिष्ठा नष्ट गर्छ, बरु सम्पूर्ण प्रवासी समुदायमा अविश्वास र द्वन्द्व फैलाउँछ। यस्तो अभ्यास पत्रकारिताको आचारसंहिता विपरीत छ।
एफएनजे कतार र कतारमा रहेका पत्रकारहरुको मान्यता छ — आलोचना गर्न पाइन्छ, तर प्रमाणसहित, आरोप होइन, तथ्य प्रस्तुत गरौं।
धन्यवाद।।