२०८२ माघ ६ गते सोमवार | 2026 January 19th Monday

आशा, अन्योल र निर्णयको घडी : नेपाली काँग्रेस र शेखर कोइरालाको भूमिका

 

जेन–जी विद्रोहपछिको अवस्थाले विभिन्न राजनीतिक दलसँग आबद्ध रहेका हरेक नेपालीलाई गहिरो निराशा र फ्रस्टेसनको मनोदशामा पुर्‍याएको थियो। सरकारमा प्रत्यक्ष संलग्न दलका रूपमा नेपाली काँग्रेस पनि यस मनोवैज्ञानिक संकटबाट अछुतो रहन सकेन। सत्ता राजनीतिले बोकेको नैतिक भारले काँग्रेसका कार्यकर्ताहरू स्वयं असहज अवस्थामा पुगेका थिए। धेरैले काँग्रेसप्रति वितृष्णा पोख्दै पार्टी त्याग्ने मनस्थिति बनाइसकेका थिए।

त्यही निराशाको कालखण्डमा धेरै साथिहरुले काँग्रेस परित्यागको घोषणा गरे, कैयौले मनस्थिति बनाए, ति मध्ये एक मपनि हुँ, यसबारे मेरो मित्र तीर्थसंगम राई लगायत केही निकटका मित्रहरूबीच हाम्रो गम्भीर मन्थन भयो। नेतृत्वको अन्योल, दिशाहीनता र राजनीतिक साहसको अभावले हामीलाई पनि काँग्रेसप्रति खिन्न बनाएको थियो। एक समय त हामी स्वयं काँग्रेस त्याग्ने निष्कर्षको नजिक पुगिसकेका थियौँ। यो व्यक्तिगत निराशा थिएन, यो हजारौँ काँग्रेस कार्यकर्ताको साझा अनुभूति थियो।

यही पृष्ठभूमिमा जेन–जी आन्दोलनले देशमा असाधारण परिस्थिति सिर्जना गरिदियो। संसद् विघटन भयो, सुशीला कार्कीको नेतृत्वमा गैरदलीय चुनावी सरकार गठन गरियो र छ महिनाभित्र संसदीय निर्वाचन गर्ने घोषणा भयो। यही विषम परिस्थितिका विच काँग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले स्पष्ट शब्दमा भन्नु भएको थियो “निर्वाचनअघि नै नेतृत्व परिवर्तन नगरी काँग्रेस चुनावमा जान सक्दैन, जानु पनि हुँदैन” त्यसका लागि उहाँले नियमित वा विशेष महाधिवेशनको वकालत गर्नुभयो।

उहाँको त्यो अभिव्यक्तिले देश विदेशमा रहेका काँग्रेस कार्यकर्ताहरुमा आशाको सञ्चार गर्‍यो। केही दिनमै विशेष महाधिवेशनको माग देशव्यापी पनि बन्यो। विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको प्रस्ताव औपचारिक रूपमा केन्द्रीय समितिमा दर्ता गराए। यही क्रममा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा लामो र सारगर्भित लिखित वक्तव्य वाचन गर्दै आफू सक्रिय राजनीतिबाट विदा हुने, विधानले तोकेको समयभित्र महाधिवेशन गराउने गरि कार्यवाहकको जिम्मेवारी सुम्पेर आफुले विदा लिएको घोषणा गर्नुभयो।

त्यस घोषणाले म मात्र होइन, लाखौँ कार्यकर्तामा आशा र नयाँ ऊर्जा भरिदियो। करिब ४८ दिनसम्म चलेको संसारको राजनैतिक इतिहास मै विरलै देखिने लामो बैठकपछि काँग्रेसले नियमित महाधिवेशन गर्ने निर्णय गर्‍यो। त्यस क्षण काँग्रेसप्रतिको भरोसा फेरि एकपटक स्थापित हुने अवस्था बनेको थियो।

तर समय बित्दै जाँदा न त नियमित महाधिवेशन भयो, न त विशेष गर्ने स्पष्ट इच्छा देखियो। नेतृत्व तह नै दुवै विकल्पबाट पछि हट्ने मनस्थितिमा पुगेपछि विशेष महाधिवेशनको माग झनै तीव्र बन्यो। यहाँ प्रश्न उठ्छ, आम निर्वाचनअघि नेतृत्व परिवर्तन अनिवार्य छ भनेर पहिलो आवाज उठाउने नेता शेखर कोइराला किन पछि हट्नुभयो? किन नियमित वा विशेष महाधिवेशनलाई निर्वाचनपछि धकेल्ने प्रयासमा उहाँको सहमति देखियो?

यसको उत्तर उहाँले कुनै दिन दिनुहोला वा नदिनुहोला, त्यो उहाँको व्यक्तिगत निर्णयको विषय हो। तर यथार्थ के हो भने, जब एउटा नेता आफ्नै बोली, प्रतिबद्धता र लक्ष्यमा अनिर्णित बन्छ, त्यसको मूल्य पूरै पार्टीले चुकाउनुपर्छ। आज नेपाली काँग्रेसमा देखिएको सकसपूर्ण परिस्थिति स्वयंले यही प्रश्न सोधिरहेको छ।

यही सन्दर्भमा विशेष महाधिवेशन सम्पन्न भयो। त्यो केवल राजनीतिक प्रक्रिया मात्र रहेन, उसले कानुनी र संस्थागत मान्यता पनि प्राप्त गर्‍यो। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा गठित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले औपचारिक रूपमा मान्यता दिएको तथ्यले अब नेतृत्व विवादमा पूर्णविराम लगाइदिएको छ। अब यो विषय बहसको होइन, स्वीकारोक्ति र जिम्मेवारीको बनेको छ।

यस अवस्थामा असन्तुष्ट पक्षलाई कानुनी लडाईंको बाटोमा लैजानु काँग्रेसको इतिहास, संस्कार र भविष्य तीनैका लागि घातक हुनेछ। अदालतमा जाने निर्णयले क्षणिक सन्तुष्टि दिन सक्छ, तर त्यसले पार्टीलाई दीर्घकालीन रूपमा कमजोर र विभाजित मात्र बनाउँछ। संघर्षको थलो अदालत होइन, जनताको मन हो, काँग्रेसको इतिहासले यही भन्छ।

 

यहाँ समयले नेता शेखर कोइरालाको निर्णायक भुमिका खोजिरहेकोछ । उहाँ आज केवल एउटा धारको नेता मात्र होइन, विगतमा नेतृत्व परिवर्तनको साहसिक कुरा गर्ने नेताका रूपमा कार्यकर्ताको आशासँग जोडिनुभएको व्यक्ति हुनुहुन्छ। आज विशेष महाधिवेशन भइसकेको छ, निर्वाचन आयोगले वैधता दिइसकेको छ। यस्तो अवस्थामा असन्तुष्ट पक्षलाई कानुनी लडाईंको भ्रमबाट बाहिर निकाल्ने, विशेष महाधिवेशनको यथार्थ स्वीकार्न सम्झाउने र नेपाली काँग्रेसलाई एकताबद्ध मार्गमा डोर्‍याउने जिम्मेवारी उहाँकै काँधमा आइपरेको छ।

यदि नेता शेखर कोइरालाले यो क्षणमा परिपक्वताको उदाहरण प्रस्तुत गर्दै एकताको पक्षमा स्पष्ट र दृढ भूमिका खेल्नुभयो भने, त्यो नेपाली काँग्रेसका लागि मात्र होइन, उहाँ स्वयंका लागि पनि ऐतिहासिक उचाइको क्षण हुनेछ। यही भूमिकाले मात्र उहाँलाई जिम्मेवार, दूरदर्शी र परिपक्व नेताको रूपमा स्थापित गर्नेछ।

जेन–जी विद्रोहपछि निराश बनेको काँग्रेस कार्यकर्ता आज फेरि आशाको खोजीमा छ। विशेष महाधिवेशनले नेतृत्व दिएको छ, निर्वाचन आयोगले वैधता दिएको छ। अब बाँकी छ राजनीतिक विवेक, नैतिक साहस र एकताको इच्छाशक्ति। नेपाली काँग्रेस आज यही साहसको प्रतीक्षामा छ र त्यो साहस देखाउने ऐतिहासिक अवसर अहिले श्रद्वेय नेता कोईरालाको हातमा छ।

लेखक नेपाली जनसम्पर्क समितिका पुर्व महामन्त्री हुन ।।

 

प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस