२०८२ फाल्गुन १७ गते आइतवार | 2026 March 1st Sunday

अनेसासको ३५औँ स्थापना दिवसको अवसरमा १६६औँ साहित्यिक डबली सम्पन्न

दोहा, कतार ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को ३५औँ स्थापना दिवसको अवसरमा अनेसास कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय, कतारको संयुक्त आयोजनामा साहित्यिक वाचन शृङ्खला १६६औँ डबली तथा विशेष साहित्यिक कार्यक्रम–२०२६, दोहा भन्दा बाहिर आयोजना गरी भव्य रूपमा सम्पन्न गरिएको छ।
प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको अनेसासले स्थापना दिवसलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले यस पटक दोहा बाहिर खुला तथा प्राकृतिक वातावरणमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा करिब ५० जना साहित्यकार, सर्जक तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
उक्त डबली कार्यक्रममा अग्निधार देबकोटा विशिष्ट श्रोताको रूपमा सहभागी रहेका थिए। विशिष्ट श्रोताको उपस्थितिले कार्यक्रमको गरिमा थप उच्च बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा कविता, गजल, मुक्तक लगायत विविध साहित्यिक रचनाहरूको वाचनसँगै दोहोरी गाएर साहित्यकारहरू झुमेका थिए। साहित्य र लोकसंस्कृतिको समन्वयले कार्यक्रमलाई थप जीवन्त र स्मरणीय बनाएको सहभागीहरूको भनाइ छ।
यसै अवसरमा श्रमिक सञ्जालद्वारा तयार पारिएको पुस्तक ‘पुरानो पन्ना’ सार्वजनिक गरिएको थियो। पुस्तक सार्वजनिक कार्यक्रममा उपस्थित साहित्यकार तथा अतिथिहरूले सामूहिक रूपमा विमोचन गर्दै कृतिको सफलताको कामना व्यक्त गरेका थिए।
अनेसास कतार च्याप्टरले विगत ३५ वर्षदेखि विश्वभर नेपाली साहित्यको विकास, प्रवर्द्धन र विस्तारमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै आयोजक संस्थाले आगामी दिनमा पनि दोहा भित्र तथा बाहिर यस्ता साहित्यिक डबली तथा सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।कार्यक्रमलाई बनभोज संयोजक शोभाराम ओली ले सहजीकरण गरेका थिए।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस