२०८३ बैशाख ३० गते बुधवार | 2026 May 13th Wednesday

कतारमा सडक दुर्घटनामा ज्यान गुमाएका लील गुरुङको शव नेपाल पुगेको छ

दोहा कतार ,

नेपाल स्याङ्जा घर भई लामो समयदेखि रोजगारीका सिलसिलामा कतारमा कार्यरत लिल बहादुर गुरुङको पार्थिव शरीर नेपाल पुगेको छ। गत अक्टोबर २९ (बुधबार) का दिन सडक दुर्घटनामा परी दु:खद निधन भएका गुरुङको शव एक सातापछि पोखरा पुर्‍याइएको हो।

स्व. गुरुङ कतारमा स्थापित तमू (गुरुङ) समाज, कतारसँग आबद्ध रहँदै खेलकुद तथा सांस्कृतिक क्षेत्रमा सक्रिय योगदान पुर्‍याउने कुशल खेलाडी तथा कलाकारका रूपमा परिचित थिए। उहाँको निधनले प्रवासी नेपाली समुदाय विशेष गरी गुरुङ समाजलाई अपूरणीय क्षति पुगेको समाजले जनाएको छ।

गुरुङको पार्थिव शरीर नेपाल पठाउन सहयोग र समन्वयमा सहभागी नेपाली दूतावास, एनआरएनए कतार, तमू (गुरुङ) समाज, कतारका पदाधिकारी तथा सदस्यहरू र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति पनि समाजले कृतज्ञता व्यक्त गरेको छ।

तमू समाजका महासचिव धन गुरुङले एक जानकारी प्रेषित गर्दै दिवंगत गुरुङको सम्झना सधैं रहिरहने बताएका छन् “लिल भाइले समाजका लागि जुन समर्पण र योगदान दिनुभयो, त्यो सदैव प्रेरणादायी रहिरहनेछ”

 

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस