२०८२ फाल्गुन १७ गते आइतवार | 2026 March 1st Sunday

नेपालको जापानमाथि ५ विकेटको रोमाञ्चक जित

टी–२० विश्वकप एसिया छनोटमा बलियो सुरुवात

करिम बक्स मियाँ

आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एशिया–प्रशान्त छनोट प्रतियोगिता अन्तर्गत आज ओमनको अल अमेरातमा सम्पन्न खेलमा नेपालले जापानमाथि ५ विकेटको शानदार जित दर्ता गरेको छ।

पहिले ब्याटिङ गर्दै जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनायो। जवाफी पारीमा नेपालले १८ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा विजय हासील गर्‍यो।

जापानका कप्तान केन्डेल काडोवाकी–फ्लेमिङले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ६० रन बनाए र टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। उनका सहकर्मी एसाम रहमान ले २५ बलमा ३१ रनको उपयोगी योगदान दिए। तर अन्य ब्याट्सम्यानहरू लगातार विकेट गुमाउँदै दवावमा परे, जसका कारण टोली ठूलो स्कोर बनाउन असफल रह्यो।

नेपालका बलरहरूले सन्तुलित प्रदर्शन गरे। गुलशन झाले ४ ओभरमा २ विकेट, सन्दीप लामिछानेले ४ ओभरमा २ विकेट र सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए। जापानले इन्कमिङ्समा १३ अतिरिक्त रन पायो।

नेपालको जवाफी पारी: ऐरी र झाको संयमित समापन

१३१ को लक्ष्य पछ्याउँदै नेपालले आक्रामक सुरुवात गर्‍यो। ओपनर कुशल भुर्तेल २१ रनमा आउट भए भने आसिफ शेख ले २१ बलमा ३८ रन प्रहार गर्दै टोलीलाई ठोस आधार दिए। कप्तान रोहित पौडेल १८ रनमा आउट भए।

बीचक्रमका ब्याट्सम्यान सुन्दिप जोरा र कुशल मल्लले सामान्य योगदान दिए।

अन्तिम समयमा दिपेन्द्र सिंह ऐरी १४* र गुलशन झा २८* ले नटआउट साझेदारी गर्दै नेपाललाई सहज विजयसम्म पुर्‍याए।

जापानका बलरमध्ये शोमा सुगया–स्लेटर ले २ विकेट र रेओ साकुरानो–थॉमस ले १ विकेट लिए, तर नेपालको आक्रमक ब्याटिङलाई भने उनीहरुले रोक्न सकेनन्।

यो जितसँगै नेपालले समूह चरणमा बलियो स्थिति बनाएको छ। ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सन्तुलित संयोजन देखाउँदै टोलीले आगामी खेलहरूका लागि आत्मविश्वास पनि बढाएको छ।

जापानका लागि मध्य ओभरमा आएको विकेटको वर्षा निर्णायक साबित भयो।

नेपालले आफ्नो योजनाबद्ध रणनीति, सन्तुलित बलिङ र अन्त्यसम्मको धैर्यपूर्ण ब्याटिङका कारण खेल आफ्नो पक्षमा मोड्न सफल रह्यो।

 

 

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस