२०८२ फाल्गुन ३० गते शनिवार | 2026 March 14th Saturday

मगर समुदायको महत्वपूर्ण पर्व माघ्या सकराटी–२०२६ कतारमा धुमधामका साथ मनाइने

कतारमा बसोबास गर्ने मगर समुदायले आफ्नो राष्ट्रिय सांस्कृतिक पर्व माघ्या सकराटी (मिनाम सार ल्हेस् ५०१९) यस वर्ष पनि विशेष उत्साहका साथ मनाउने भएको छ। नेपाल मगर संघ, शाखा कतारको आयोजनामा आगामी शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित यो पर्व मनाउन लागिएको हो।

कार्यक्रमलाई थप आकर्षक बनाउन नेपालबाट लोकप्रिय लोक तथा दोहोरी गायिका प्रीति आले मगर, गायक अमर रोका मगर र उद्घोषक पुरन रास्कोटी मगर कतार आउने भएका छन्। नेपाल मगर सांस्कृतिक परिवारका कलाकारहरूले सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा र भुम्या जस्ता मौलिक नृत्य प्रस्तुत गर्नेछन्। यसका साथै मगर भाषामा नेपाली लोक–दोहोरी, आधुनिक र फिल्मी गीतहरू पनि प्रस्तुत हुने कार्यक्रम संयोजक देवीकुमारी मगरले जानकारी दिइन्।

संघका अध्यक्ष समीर थापा मगरका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ र नेपालबाट कलाकारहरूको आगमनसँगै सबै तयारी पूरा हुने छ।

कार्यक्रम अल ओकिरस्थित डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सहभागीहरूका लागि कतारका विभिन्न स्थानबाट निःशुल्क बस व्यवस्था गरिएको छ। यातायात सम्बन्धी जानकारीका लागि यातायात संयोजक दुर्गा दर्लामी मगर (मोबाइल : ३३७६४१४२) र सह–संयोजक नेत्र थापा मगर (मोबाइल : ३३८५८५६५) मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

माघ्या सकराटी मगर समुदायको मौलिक तथा ऐतिहासिक पर्व हो, जसले सूर्यको मकर राशिमा प्रवेशलाई समय चक्रको नयाँ शुरुआत, ऋतु परिवर्तन र सामाजिक–आध्यात्मिक पुनर्जागरणको प्रतीक मान्छ। यो पर्वले प्रकृति, पितृपूजा, सामाजिक संरचना र आर्थिक जीवनबीचको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस