दोहा, कतार
नेपाली सुगम सङ्गीतका चर्चित तथा स्थापित गायक राज सिग्देलको एकल गायन रहेको “सुमधुर गजल साँझ” कार्यक्रम कतारको दोहामा भव्य रूपमा सम्पन्न भएको छ।
अनेसास नवोदित साहित्यिक वाचनालयको १७१औँ डबली, भानुभक्तको २१२औँ जन्मजयन्ती तथा नवोदितको १८औँ अधिवेशनको पावन अवसर पारेर उक्त “सुमधुर गजल साँझ” आयोजना गरिएको हो।
शुक्रबार प्लाजा मलमा रहेको वेलफेयर रेस्टुरेन्टको सभाहलमा साँझ ६ बजेदेखि सञ्चालन भएको कार्यक्रममा नेपाली कला, साहित्य र सङ्गीतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा गायक सिग्देलले ‘देशले रगत मागे, मलाई बलि चढाऊ’ बोलको देशभक्तिपूर्ण गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए। त्यसपछि उनले ‘तिमिलाई अरू सँग देख्दा’, ‘म रोए पनि तिमी हाँसी राख्नु’, ‘बनै खायो डडेलोले ‘ र ‘देउता’ किन किन तिम्रो तस्बिर, लगायतका करिब एक दर्जन जति लोकप्रिय गीत-गजलहरू गाएर उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए।
विशेष गरी सिग्देलको सर्वाधिक लोकप्रिय तथा कालजयी गीत ‘ऊ जितेर गई या हारेर’ गाउँदा उपस्थित दर्शकदीर्घाबाट ‘वान्स मोर’ को हुटिङसहित हल नै गुञ्जायमान भएको थियो।
नेपाली सुगम सङ्गीतमा मधुर स्वर, भावपूर्ण अभिव्यक्ति र शास्त्रीय सङ्गीतको सशक्त संयोजनका कारण विशिष्ट परिचय बनाउन सफल सिग्देल गुणस्तरीय तथा कालजयी सिर्जनाका पक्षधर कलाकार हुन्। गीतलाई केवल प्रस्तुत गर्ने माध्यमका रूपमा नभई भावना र जीवनसँग जोडेर गाउने उनको मौलिक शैलीले नेपाली सङ्गीतप्रेमीहरूको मनमा अलग पहिचान स्थापित गरेको छ।
नेपाली सङ्गीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदान र कतारमा रहेका नेपालीहरूलाई आफ्नो सुमधुर प्रस्तुतिमार्फत साङ्गीतिक मनोरञ्जन दिलाएबापत कार्यक्रममा गायक राज सिग्देललाई खादा, दोसल्ला र सम्मान पत्रद्वारा विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली दूतावास कतारका कार्यवाहक राजदुत कुमार राईको प्रमुख आथित्यता, नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष शाेभाराम ओलिको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, साहित्यकार सहित प्रवासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
