२०८३ मङ्सिर १० गते बुधवार | 2026 November 25th Wednesday

भारतको आश्वासनपूर्ण तर गैरकार्यान्वयन नीतिले नेपालको विकासमा बाधा : अध्यक्ष पराजुली

दोहा (कतार), मंसिर ९ — कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुलीले नेपाल–भारत सम्बन्धमा भारतले बारम्बार आश्वासन दिए पनि त्यसको व्यवहारिक कार्यान्वयन नगर्ने नीतिका कारण नेपालको राष्ट्रिय हित र विकासमा निरन्तर बाधा पुगेको बताउनुभएको छ। एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पराजुलीले जुनसुकै नेपाली नेतृत्व भारत भ्रमणमा जाँदा आश्वासन मात्र लिएर फर्किने तर व्यवहारमा कार्यान्वयन नहुने प्रवृत्तिले मुलुकलाई गम्भीर चुनौतीमा पारेको उल्लेख गर्नुभएको हो।

​विज्ञप्तिमा भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाई मार्ग भारतले लामो समयदेखि नखोल्दा पर्यटन र व्यापार क्षेत्रमा नेपालले ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा हवाई मार्ग खोल्ने सहमति भइसकेको स्मरण गराउँदै अध्यक्ष पराजुलीले प्रतिबद्धताविपरीत बाटो नदिइनुले दुई देशबीचको विश्वासमा धक्का पुगेको ठहर गर्नुभएको छ।

​त्यसैगरी, सन् १९५० को सन्धिलगायत द्विपक्षीय विषयको पुनरावलोकनका लागि दुवै देशका विज्ञ सम्मिलित प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन भारत पक्षले बुझ्न र लागू गर्न अस्वीकार गरेकोप्रति समाजले ध्यानाकर्षण गराएको छ। वर्षौं बित्दा पनि उक्त प्रतिवेदन कार्यान्वयनका लागि नेपाली नेतृत्वले समेत प्रभावकारी कूटनीतिक दबाब दिन नसकेको गुनासो विज्ञप्तिमा गरिएको छ।

​भारतको आश्वासन दिने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले नेपालको आर्थिक, भूराजनीतिक तथा राष्ट्रिय आत्मनिर्भरताको यात्रामा अवरोध पुर्‍याएको र यसले आम नेपाली जनतामा निराशा बढाएको अध्यक्ष पराजुलीको निष्कर्ष छ।

​उहाँले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय मञ्च र द्विपक्षीय वार्तामा उठाएका विषयहरूलाई परिणाममुखी बनाउन आग्रह गर्नुभएको छ। साथै, भारतसँगको सम्बन्धमा स्पष्टता, समानता र निष्पक्षता कायम गर्दै मुलुकको विकास योजना र नेपाली जनताको अधिकार सुरक्षित गर्न प्रभावकारी कूटनीतिक कदम चाल्न कतार नेपाली एकता समाजले सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस