२०८३ साउन ७ गते बिहिवार | 2026 July 23rd Thursday

कतारमा हुने “मैत्रीपूर्ण कम्युनिटी महिला भलिबल प्रतियोगितामा नेपाल सहभागि हुने, १७ सदस्यीय टोली घोषणा

 

दोहा (कतार)

 

श्रम सहकार्य तथा बिमा कोष कतारको आयोजनामा भोली शुक्रबारबाट सुरु हुने ‘मैत्रीपूर्ण कम्युनिटी महिला भलिबल प्रतियोगिता–२०२६’ मा नेपालले सहभागिता जनाउने भएको छ। प्रतियोगिताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) कतारको समन्वयमा १७ सदस्यीय नेपाली महिला भलिबल टोली घोषणा गरिएको हो।

 

बिहीबार साँझ आयोजित परिचयात्मक कार्यक्रम, जर्सी हस्तान्तरण तथा जिम्मेवारी बाँडफाँड समारोहमार्फत टोलीको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा खेलाडीहरूलाई आधिकारिक जर्सीसमेत हस्तान्तरण गरिएको थियो। घोषित टोलीमा निशा पराजुली टोली संयोजक, बिष्णु खत्री टोली व्यवस्थापक तथा सागर बि.के. टोली प्रशिक्षक रहेका छन्।

 

त्यसैगरी कोसेली रोखा मगर (जर्सी नं. १०) टोली कप्तान तथा रबुका श्रेष्ठ (जर्सी नं. १) उपकप्तान चयन भएकी छन्।टोलीका खेलाडीहरूमा कल्पना घर्ती (जर्सी नं. ३), इन्दिरा शाह (जर्सी नं. ७), आशिक बि.के. (जर्सी नं. २), वर्षा जलारी (जर्सी नं. ८), जुना कुँवर खत्री (जर्सी नं. १३), रोजिना गुरुङ (जर्सी नं. ३), करुण खड्का (जर्सी नं. १५), गंगा गुरुङ (जर्सी नं. ११), भीम कुमारी के.सी. (जर्सी नं. ४), सरिता तामाङ (जर्सी नं. ६), आकांक्षा मगर (जर्सी नं. ९) तथा देवी बि.के. (जर्सी नं. १२) रहेका छन्।

 

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए एनसिसी कतारका खेलकुद संयोजक राजन चापागाईँले कतारमा रहेका नेपाली संघ–संस्थाहरूले कला, संस्कृति र मनोरञ्जनसँगै खेलकुदमार्फत पनि नेपालको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले विगतमा कम्युनिटी लिगअन्तर्गत पुरुष फुटबल र भलिबलमा नेपाली टोलीले सहभागिता जनाइसकेको उल्लेख गर्दै यसपटक महिला भलिबल टोली पनि प्रतियोगितामा सहभागी हुन लागेको बताए।

 

उनले प्रतियोगिता मैत्रीपूर्ण भएकाले अनावश्यक दबाब नलिई अनुशासित, आत्मविश्वासी र उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरूलाई आग्रह गरे।

 

त्यसैगरी एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले खेलका क्रममा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै अंकको उतारचढावबाट विचलित नभई धैर्यता, संयमता र टिमभावनाका साथ खेल्न खेलाडीहरूलाई सुझाव दिए। उनले प्रतियोगितामार्फत नेपालको प्रतिष्ठा उच्च राख्दै उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरे। एनसिसी कतारका महासचिव शिव भुजेलले सञ्चालन गरेको कार्यक्रममा कतारमा क्रियाशील विभिन्न जिल्ला, प्रदेश तथा सामुदायिक संस्थाका अध्यक्ष एवं प्रतिनिधि, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिता अली बिन हमद अल अतिया एरिना, अल सादस्थित इन्डोर हलमा शुक्रबार बिहान सञ्चालन हुनेछ। खेल हेर्न आउने दर्शक तथा समर्थकहरूले गेट नम्बर २ बाट प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। एनसिसी कतारले नेपाली महिला टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस