२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

श्रमिकहरूको संगठन GSG Qatar ले श्रमिक दिवस मनायो

दोहा-नेपाली प्रवासी श्रमिक संघ (GEFONT Support Group ) कतारले आज (२ मे २०२२) श्रमिक दिवस-२०२२, ईद मिलन तथा नेपाली नयाँ वर्ष विक्रम संवत् २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रम संयुक्त रूपमा भव्य तरिकाले सम्पन्न गरेको छ ।

ईद उल फित्रको पहिलो दिन सोमवार श्रमिकहरूको छुट्टीको अवसर पारेर, ” श्रम संसार रूपान्तरण को आधार, सबैका लागि सामाजिक सुरक्षा र मर्यादित रोजगार” भन्ने मूल नाराको साथ अन्तराष्ट्रिय श्रमिक दिवस तथा मुस्लिम धर्मावलम्बिहरूको महान पर्व ईद उल फित्र को उपलक्षमा ईद मिलन सहितको कार्यक्रम श्रमिकहरूको बाहुल्यता रहेको क्षेत्र सनैया स्थित ह्वाइट हाउस रेस्टुरेन्ट को सभाहलमा सम्पन्न गरेको हो।

नेपाल ट्रेड युनियन महासंघ का अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा दोहामा स्थापित विशेष गरि श्रमिकका एजेन्डा भएका, श्रमिकका समसामयिक समस्याहरू उपर चासो राख्ने संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

शुभकामना आदान प्रदान सहितको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँले शुभकामना मन्तव्य राख्दै श्रमिकहरू सधैँ नेताहरूका भर्याङ्गको रूपमा मात्र प्रयोग हुने, चप्पल पड्काउँदै केही बर्ष अघि शहर छिरेका नेताले हामी जस्ता श्रमिकलाई प्रयोग गरेर आफ्नो जीवन स्तर उकास्दै चिल्ला गाडि मा कुदी रहँदा हामी जस्ता श्रमिकका जीवन स्तर चाहिँ जहीँ को त्यहीँ रहेको बताए। यसै गरि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सचिव दीप जङ्ग शाहले आफू आवद्ध संस्थाले सधैँ श्रमिकहरूको हीतको विषयमा कामगर्ने गरेको, कोभिडको महामारीमा समेत धेरै धेरै नेपाली श्रमिकहरूको उद्धार गर्दै स्वदेश फिर्तीको सवालमा दूतावास संग समन्वय गरेर काम गरेको, आगामी दिनमा GSG कतार संग समन्वय गरेर श्रमिकका समस्याहरू उपर काम गर्न इच्छुक रहेको बताए।

कार्यक्रममा अन्तराष्ट्रिय प्रवासी नेपाली मञ्च का अध्यक्ष भक्त गुरुङ्ग, प्रवासी नेपाली मञ्च कतारका कार्यवाहक अध्यक्ष चानिलाल राजवंशी, ITUC कतारका नेपाली प्रतिनिधि तथा GSG कतारका संस्थापक अध्यक्ष विश्वराज नेपाल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सचिव दीप जङ्ग शाह, प्रदेश नम्बर एक समन्वय परिषदका महासचिव निरन नेपाल, मधेस प्रदेश समन्वय परिषदका कार्यवाहक अध्यक्ष दुर्गा नन्द झा, कर्णाली प्रदेश समन्वय परिषदका महासचिव मोतिलाल बुढामगर, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, प्रवासी नेपाली मञ्च कतारका राष्ट्रिय कमिटी सदस्यहरू हंसराज ढकाल, विजय बस्नेत, भेषराज पराजुली, बालकृष्ण भित्रिकोटी, श्रमिक कल्याणकारी संघका अध्यक्ष देव लम्साल लगायतले श्रमिकहरूले आयोजना गरेको उक्त कार्यक्रममा उपस्थिति जनाउँदै आफू आवद्ध संस्थाका तर्फबाट शुभकामना मन्तव्य राखेका थिए।

संस्थाका संस्थापक अध्यक्ष विश्व नेपालले श्रमिकका प्रतिनिधि मुलक समस्याहरूलाई समेट्दै उपस्थित श्रमिकहरूको सहभागितामा राउण्ड टेवल अभ्यास गराएका थिए, उक्त अभ्यासका विजयी श्रमिकहरूलाई नगद पुरस्कार हस्तान्तरण गर्दै यस्ता चेतना मूलक कार्यक्रमले श्रमिक हरूको चेतनाको विकास गर्ने र चेतना स्तर उकासिंदा साथमा श्रमिकहरूको जीवन स्तर समेत उकासिने हुँदा, दोहामा स्थापित संघ संस्थाहरूलाई श्रमिकमुखी जनचेतना कार्यक्रमहरू गर्न सुझाव दिएका थिए।
कार्यक्रमका प्रमुख वक्ता नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठले भर्च्युअल माध्यमबाट कार्यक्रममा उपस्थित सम्पूर्ण श्रमिकहरूलाई सम्बोधन गर्दै, श्रमिक बिना देशको समृद्धि सम्भव नहुने, समृद्धि प्राप्त गर्न आसन्न बैसाख ३० गतेको स्थानिय निर्वाचनमा धेरै भन्दा धेरै श्रमिकहरूको प्रतिनिधित्व गर्ने पार्टी एमाले ले उठाएका उमेदवारहरूलाई, आफ्नो अमूल्य मत चुनाव चिह्न सूर्यमा प्रदान गरि विजय गराउन आफ्नो घरमा फोन गरेर आफन्तलाई बताउनका निम्ति अनुरोध गरेका थिए।

नेपाली प्रवासी श्रमिक संघ (GSG -Qatar) का अध्यक्ष शेषराज तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित १५० भन्दा बढी श्रमिक तथा संघ संस्थाका प्रतिनिधि सबैलाई संस्थाका द्वितीय उपाध्यक्ष समुन्द्र खड्का ले आफ्नो मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण संस्थाका प्रथम उपाध्यक्ष खेमराज सुवेदीले गरेका थिए।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस