२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

ट्याक्सीवाली कोहिनुर”

थाकेरपनि हरेक दिन बिस्तारामा पल्टेपछि झ्याप्पै निंद्रा लाग्दैन, सोच्छु आजको दिन त बाँचियो।

देख्नेहरुको लागि त मेरो दिनचर्या रमाइलो लाग्दो हो, भन्ने र सोच्नेलाई कति सजिलो  छ ‘सररर गाडी हाँकेकी छे, कतारका हरेक ठाउँ घुमेकी छे’  ती सोच्नेहरुको जस्तै सहज र मस्तीमा छैन यो जिन्दगी।

मेरो दिनचर्या हरेक दिन सवेरै ५ बजेबाट शुरु हुन्छ।  गाडीको सिटमा अडेस लाएर एकपटक मेरो कुटीको गेटलाई हेर्छु र मनमनै कामना गर्छ “भरे म कुशलपूर्वक फर्किन सकुँ”

मनमनै आफ्नो कुशलताको कामना सहित गन्तव्यहीन यात्रा शुरु हुन्छ मेरो हरेक बिहान।दैनिक १२-१३ घण्टा कतारका बाटाहरुमा गाडी कुदाउने, एक पलको लागि त मनोरम नै लाग्ला तर यहि नै गरिखाने मेलो भएपछी यसका जटिलता र यसभित्रको पीडा यहि पथमा जीवन खोज्ने बाहेक अरुलाई थाहा हुने कुरापनि भएन।

हो, ट्याक्सी चलाउने काम हेर्दा र व्यहोर्दा एकै हुँदैन।
भोकले लगलग ज्यान कामेको बेला, लघुशंका वा दीर्घशंकालाई थामेर ट्याक्सीमा बसेका पेसेन्जर बोकी उनीहरुको गन्तव्य पुग्नु कहाँ सजिलो छ र बरै !

अनिंद्रा, थकान, भोक र तिर्थालाई ट्याक्सी चलाउनेहरुले सहजै पचाउन सक्नु पर्दछ।

बुकिङ गरेका पेसेन्जरहरुलाई बाटाका चोक गल्ली, बजारका छेऊकुनामा बिरालोले मुसा ढुके झैं ढुकेर बस्दा कतै फाईन पो पर्ने हो कि भन्ने मेरो उर्फ मजस्ता सयौं ट्याक्सी सेवामा लागेकाको लागि नित्य चिन्ता हो।

प्रचन्ड गर्मीमा बिना काम तेत्तिकै कुदेर पनि भएन,अत्याधिक गर्मीको कारण गाडी कुदे मात्र चिसो हुन्छ, पार्क गरेर बस्यो भने एसीले पनि काम गर्दैन।

आफूले जति सावधानी अपनाएर गाडी कुदाएपनि अर्कोले गरेको गल्तीले कति बेला कहाँ के हुन्छ भन्ने थाहा नै हुँदैन। हिंड्दै गर्दा बाटोमा भएका दुर्घटना देख्दा एकछिन त हातखुट्टा नै सेलाउँछन, घरपरिवार सम्झन्छु नचाहेर पनि आँखा रसाउँछन। कतै पार्किङ गरेर घरतिर फोन हान्छु, फोन उठे त कुरा गर्छु,  कहिले काहीँ घरको व्यस्तताले भनेको बेला मम्मीले फोन उठाइसिन्न अनि पापी मन न हो नकारात्मक सोच्छ, घरका बारेमा भन्दा बढी आफ्नै बारेमा मनमा नकारात्मक सोच खेल्ने गर्छ, जीवनको लागि जीवन खोज्ने म ट्याक्सी ड्राइभर, जुन हरेक दिन सडकगल्ली भौतारी रहने एउटी मुग्लाने केटी न हुँ!

मेरो खुशी हरेक दिन दुईटा कुराले प्राप्त हुन्छ। जब म कोठामा पुग्छु दिनभरीको कमाई गन्छु र म जसरी सवेरै निक्लेकी थिएँ थकित तर सकुशल कोठा फर्केकोमा मन प्रफुल्ल हुन्छ।

गाडीको किस्ता,तेल खर्च, कोठा भाडा, स्पोन्सर खर्च र गाडीको मर्मत सबै खर्चलाई हरेक दिन एभरेजमा जोडेर आम्दानीसँग मिलाउँदा बचेको पैसा नै मेरो मुख्य खुशी हुने गरेको छ। खर्चबाट उभ्रेको आम्दानीबाट घर धान्ने तारतम्य सामान्य विषय पक्कै होईन, त्यसैले म आफू कन्जुसीको सिमामा बाँधिएर दिनचर्या बिताउने गरेकी छु।

शहरदेखी पर गाउँ की केटी म,मेरो रहर थिएन परदेश आउने न त  मलाई रहर थियो ट्याक्सिवाली बन्ने।

शुरुमा म एक प्रतिष्ठित कम्पनीमा काम गर्थें, हरेक महिनाको अन्त्यमा तलव आउँथ्यो, केवल कम्पनीले तोकेको ड्युटीको मात्र जिम्मेवारी थियो, तलव जति आउँथ्यो त्यो सब मेरो सम्पत्ति हुन्थ्यो। गासबास, आइडी भिसा, विदा तथा स्वदेश आउने जाने सबै खर्चको जिम्मा कम्पनीको थियो। कम्पनी अनि जागीर सकुनको जिन्दगी थियो, तर कोरोना कहरले मेरो आराम खोसी दियो, ९ वर्षदेखी गर्दै आएको जागीर गुम्यो, समय चक्रले मुग्लाने जिवनमा गन्तव्य हराएको केटी बन्न पुगें।
म नयाँ जागीरको खोजीमा जहाँ पुगें, जसजसलाई भेटें हरेक दुईमा एक मेरो जस्तै जागीर गुमेका वा कोरोनाले थेचारिएका नै भेटिए। कति चिनेजानेकाहरुको आश्वासन बाहेक उपलव्धी प्राय: शून्य नै भए।

हातमा सिभी बोकेर हिंड्दा सिटी सेन्टरका ती अग्ला गगन चुम्भी टावरहरुलाई जडोदेखी टुप्पोसम्म हेर्दै मनमनै सोच्थें, यी अग्लाअग्ला टावरहरुमा मेरो लायक काम किन छैन? किन म प्रचण्ड गर्मीमा जागीरको लागि भौतारी रहेकी छु, निधारबाट ओर्लिएका पसिना भिजेका आँखाका परेलीसँग मिल्थे, घन्न पसिना थियो र आँशु देखिन्नथ्यो।

जागीरको खोजीमा निरन्तर संघर्ष जारी थियो। सिभी बुझाएका कम्पनीहरुबाट फोन नआएका पनि होईनन्। तर आएका केही फोनबाट स्वार्थको दुर्गन्ध आउने गर्दथ्यो।अन्तर्वार्ताका लागि फोन गर्नेहरुले कुनै रेस्टुरेन्टमा कफी पिउने कुरो गर्थे। कार्यालयमा होईन र अन्तर्वार्ता? मेरो प्रश्नको उत्तर जे आएपनी मलाई बुझ्न कठिन थिएन कि म जागीरको खोजीमा रहेकी केटी हुँ। त्यसपछी मैले प्राय: अन्नोन नम्बरबाट आउने कलहरु उठाउनै छोडी दिएँ।

अन्तर्बार्ताको लागि सबै फोन नकारात्मक मात्र हुन्थे मेरो आशय त्यो पक्कैपनी होईन, परन्तु केही राम्रा अन्तर्वार्तापनि दिएँ, तर कतै तलव मिलेन भने कतै सुविधामा कुरा मिलेन।

तलव र सुविधाको राम्रो आश्वसन दिएको एउटा कम्पनीमा २-३ महिना अस्थायी काम गरें,तर समयमा तलव नदिने देखेर त्यो म आफैंले छोडी दिएँ। राम्रो जागीरको खोजी जारी नै थियो।

जागीरको खोजीमा दिन हप्ता र महिना बित्दै जाँदा मनमा एकदिन एउटा प्रश्न उब्ज्यो। मसँग ड्राईभिङ्ग लाइसेन्स छ किन महिलाले ट्याक्सी चलाउन हुन्न र! मनदेखी मनसँग लामो अन्तर्वार्ता दिएं र अन्तमा म आफैंले आफुलाई सेलेक्ट गरें अनि निधो गरें म ट्याक्सीवाली बन्छ अब।

ऋणधन गरें, किस्तामा गाडी किनें, प्रकृया पूरा गरी आजकाल म सवेरैदेखि  अन्तरातसम्म ट्याक्सी चलाउँछु। कम्पनीको जागीरे जीवन जस्तै सहज नभएपनी अब त बानी पर्यो, यसैमा जीवन भेटेकी छु, यसैमा सन्तुष्ट छु।

अस्तिबेर करीम दाईले फोन गरेर भने “कता छौं बैनी… ट्याक्सीवाली बैनी…. ट्याक्सीवाली कोहिनुर” हामी  फोनमा बेजोडले हाँस्यौं।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस