२०८१ फाल्गुन २७ गते मङ्गलवार | 2025 March 11th Tuesday

कतारमा भिजा उल्लङ्घनकर्ताका लागि विशेष छुट अवधि घोषणा

दोहा, कतार – कतार सरकारले भिजा उल्लङ्घन गर्ने विदेशीहरूका लागि विशेष छुट अवधि (Grace Period) घोषणा गरेको छ। कतारको गृह मन्त्रालयले सन् २०१५ को कानुन नं. २१ अन्तर्गत उल्लङ्घनकर्ताहरूलाई सहज रूपमा देश छोड्ने अवसर दिन फेब्रुअरी ९, २०२५ बाट लागू हुने तीन महिनाको विशेष छुट अवधि घोषणा गरेको हो।

यस छुट अवधिमा आवासीय भिसाको म्याद सकिएका वा पर्यटक भिसामा तोकिएको समयभन्दा बढी बसेका व्यक्तिहरूले कुनै कानुनी कारबाही वा जरिवाना बेहोर्नु नपरी देश छोड्न सक्नेछन्।

गृह मन्त्रालयका अनुसार, उल्लङ्घनकर्ताहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सिधै प्रस्थान गर्न सक्नेछन् वा दोहाको सालवा रोडस्थित खोज तथा अनुगमन विभागमा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्। विभागको सेवा समय हप्ताको आधिकारिक कार्यदिनमा दिउँसो १:०० बजेदेखि राति ९:०० बजेसम्म रहनेछ।

कतार सरकारको यो निर्णयले विशेष गरी नेपाली लगायत अन्य प्रवासी श्रमिकहरूलाई ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। कतारमा कानुनी रूपमा बसोबास गर्न नसकेका वा विभिन्न कारणले भिसा उल्लङ्घन गरेका व्यक्तिहरूले यो अवसर उपयोग गर्न सक्नेछन्।

यो विशेष छुट अवधि को लाभ उठाउन इच्छुक नेपाली समुदायका व्यक्तिहरूले कतारस्थित नेपाली दूतावास वा सम्बन्धित निकायसँग थप जानकारी लिन सक्नेछन्। कतारमा रहेका नेपाली श्रमिकहरू तथा अन्य प्रवासी कामदारहरूको लागि यो विशेष अवसर हो, जसले उनीहरूलाई कानुनी समस्या बेहोर्नु नपर्ने गरी सुरक्षित रूपमा आफ्नो देश फर्कने सुविधा दिनेछ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस