
दोहा, कतार – गण्डकी प्रदेश समन्वय परिषद् कतारको चौथो अधिवेशन बाट नन्दलाल विक (अजय) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ l पछिल्लो केहि महिना देखि कार्यबाहक अध्यक्ष को भूमिकामा रहेका अजयलाई अधिवेशनको बन्द सत्रबाट पूर्ण कार्याकालको लागी अध्यक्षमा चयन गरिएको हो l
कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा मंगलबार अलत्तियास्थित फूलबारी रेस्टुरेन्टमा सम्पन्न अधिवेशन बाट नयाँ कार्यसमितिमा रोशन अर्याल (स्याङ्जा) वरिष्ठ उपाध्यक्ष, कल्याण थापा (लमजुङ) तथा अर्जुन संग्रौला (गोरखा) उपाध्यक्ष, मन प्रसाद राना मगर (कास्की) महासचिव, मदन जी.सी. (बाग्लुङ) कोषाध्यक्ष चयन भएका छन्। पदेन सदस्यहरूमा बाबुराम भण्डारी, नीराजन गौतम, सन्तोष क्षत्री, अग्निधर देवकोटा, विनोद प्रसाद बर्सौला, ओम गुरुङ, मीन राज वाग्ले, घनश्याम अर्याल रहेका छन्। चार जना सदस्यहरूलाई पूर्ण कार्यसमितिको बैठकले मनोनीत गर्नेछ।
अधिवेशनको उद्घाटन परिषद्का का.वा. अध्यक्ष नन्दलाल विकको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका उपमहासचिव प्रवीण गुरुङ प्रमुख अतिथि रहेका थिए। उनले गण्डकी प्रदेशको विकास र नेपाली समुदायको एकताका लागि संस्था महत्त्वपूर्ण रहेको भन्दै कार्यसमितिको भूमिकाको प्रशंसा गरे।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो। सुधा परियार र यामुना पटेलले नृत्य प्रस्तुत गरेका थिए भने बाबु कौसल, रेश्मी सेन्चुरी, सुरज खनाल लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा साहित्यकार सिताराम थापाको कविता “पैसा नतिर्ने मेरो एउटा साथी छ” ले विशेष चर्चा पायो।
परिषद्को दुई वर्षे कार्यप्रगति महासचिव कल्याण थापाले प्रस्तुत गरे भने कोषाध्यक्ष रोशन अर्यालले आर्थिक प्रतिवेदन पेश गरे। नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले योग साधनाको महत्वबारे जानकारी गराउँदै व्यायाम अभ्याससमेत गराए।
कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष नन्दलाल विकले कार्यकाल सफल बनाउन सम्पूर्ण सदस्यहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै अघिल्लो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने सबैलाई आभार व्यक्त गरेका थिए ।