२०८१ फाल्गुन ३० गते शुक्रवार | 2025 March 14th Friday

कांग्रेसको अधिवेशन फेरि पनि समयमा नहुन सक्छ : प्रवक्ता

दोहा, कतार – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको आसन्न महाधिवेशन निर्धारित समयमा नहुने संकेत गरेका छन्। नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसको इतिहासमा महाधिवेशनहरू समयमा हुन नसकेको थुप्रै उदाहरण रहेको भन्दै यसपटक पनि कम्तीमा एक वर्ष ढिलो हुन सक्ने बताएका छन्।

“कांग्रेसको इतिहासमा महाधिवेशनहरू निर्धारित समयमा नभएका थुप्रै उदाहरण छन्,” उनले भने, “यो वर्ष पनि एक वर्ष ढिलो हुन सक्छ।”

उनले महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउन सहयोग गर्ने बताउँदै पुराना नेता कार्यकर्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई अघि बढाउने नेतृत्व आवश्यक रहेकोमा जोड दिए। साथै, प्रवासमा रहेका नेपाली जनसम्पर्क समितिहरूले आफ्नो अधिवेशन गर्न केन्द्रको अनुमति कुर्नु नपर्ने स्पष्ट पारे।

उनले कांग्रेसले गठबन्धन गरेर चुनाव लड्नुपरेको कारण नेपालमा मिश्रित निर्वाचन प्रणाली रहेको बताए। उनका अनुसार कुनै पनि पार्टी एकल बहुमत ल्याउन नसक्ने भएकाले भविष्यमा पनि गठबन्धन आवश्यक पर्ने देखिएको छ।

महतले केही नयाँ पार्टीहरूले सामाजिक सञ्जालमा पुराना पार्टीहरूलाई गाली मात्र गर्ने प्रवृत्तिले नेपालमा केही पनि छैन भन्ने भ्रम फैलाएको उल्लेख गरे। उनले नेपाल विकासको यात्रामा अगाडि बढिरहेको दाबी गर्दै गलत प्रचारको पछि नलाग्न आग्रह गरे।

“सामाजिक सञ्जालमा नकारात्मक कुराहरू मात्र सुन्दै जाने र साँचो कुरा नबोल्ने हो भने कुनै दिन झुटो नै सत्य बन्न सक्छ,” उनले भने, “कसैको गाली खाइन्छ भनेर साँचो कुरा राख्न छोड्न हुदैन।”

कार्यक्रममा नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीले वडादेखि केन्द्र र प्रवाससम्म महाधिवेशनकै बेला मात्र नेता कार्यकर्ताहरू सक्रिय हुँदा पार्टी संगठन बलियो नहुने बताए। उनले संगठनलाई स्थायी रूपमा सशक्त बनाउन नेताहरूले दीर्घकालीन योजना ल्याउनुपर्ने धारणा राखे।

उनले केन्द्रीय बैठकले विधानमा जनसम्पर्क समिति सम्बन्धी धारा निलम्बन फुकुवा गरेको निर्णयको औपचारिक जानकारी नदिइएकोप्रति असन्तुष्टि जनाए। मौखिक व्याख्या मात्रै गरेर समस्या समाधान नहुने उनको भनाइ थियो।

May be an image of 6 people, dais and text that says 'Plaza Inn dahe ጣ'

कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष तथा नेपाली कांग्रेसका महासमिति सदस्य राज रेग्मीले प्रवासमा कमाएको पूँजी तथा सीपलाई नेपालमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

“एनआरएनएले एकताबद्ध भएर गएमा नेपालको विकासमा ठूलो योगदान दिन सक्छ,” उनले भने, “हामीले प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई नेपालमा लगानी गर्न सके देशलाई समृद्ध बनाउन सहज हुन्छ।”

कतारमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. प्रकाशशरण महत सहभागी थिए भने नेपाली कांग्रेसका महासमिति सदस्यहरू, तरुणदल केन्द्रीय सदस्य दिनेश राई, डुवा छिरिङ लामा लगायत अन्य नेता कार्यकर्ताहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस