२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारमा विभाजनको असर: भट्ट र कार्की समूहबीचको रस्साकस्सी

दोहा, कतार

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतार स्पष्ट रूपमा दुई धारमा देखिएको छ l दुई साल पहिले रमेश भट्टको नेतृत्वमा निर्वाचित कार्यसमितिले कतारमा उत्कृष्ट कार्यसम्पादन गर्दै अगाडी बढी रहेको थियो l जुलाई मसान्त भित्र आफ्नो कार्यकालको सुखद अवतरण गर्न खोजेका भट्टलाई कार्यकालको अन्त्यतिर आउँदै गर्दा सम्पन्न हुने तेस्रो परिषद् (अन्तिम) भेला सम्पन्न गर्न मिति सार्न पर्ने अवस्थामा पुग्दा नै एनसीसी भित्रको असहजता बुझेको बताउँछन् l

नेपालमा केन्द्रीय कार्यालय रहेको एनआरएनएमा देखिएको फुट, गुट, अदालतमा पेस भएका र फैसला हुन् बाँकी मुद्दाले कतार सहित विश्व भरका एनसीसीलाई पुराएको असरका बारेमा भट्टको कार्यसमिति राम्रो सँग जानकार थियो l २३ मे मा आयोजना गरिएको तेस्रो परिषद् (अन्तिम) भेला विशेष गरी केन्द्रमा रहेका दुई वटा आइसिसी मध्ये कुन प्रणालीमा टेकेर परिषद् सदस्यता खुल्ला गर्ने र एनसीसी कतार अगाडि बढ्ने भन्ने अन्यौलता चिर्ने प्रयास स्वरूप सारिएको जानकारी दिँदै लिखित माइन्युट गर्दै जुन २७ भित्र सम्पन्न गर्ने गरी स्थगित गरियो l

एनसीसी कतारले कुनै पनि आइसिसीको समर्थन पनि नगर्ने, शेष घलेले सम्पन्न गरेको एकताको महाधिवेशनमा सहभागी हुन् पनि कसैलाई नरोक्ने,अक्टोबरमा हुने महाधिवेशनमा पनि जानेलाई नरोक्ने र जुन सुकै महाधिवेशनमा सहभागी भए पनि पञ्जीकृत सदस्यता बापत केन्द्रलाई बुझाउनु पर्ने प्रति सदस्य ३ डलर पनि नबुझाउने कार्यसमितिले सर्वसम्मत निर्णय गरेको महासचिव रबिन मगर बताउँछन् l उनले एनसीसी कतारले कहीँ कतै कसैलाई रोक तोक नगरेको र दुई वटा आइसिसीमै जाने निर्वाचन जोतेर आउनेलाई स्वागत गर्ने र आफ्नो अलग्गै पोर्टल बनाएर एघारौँ अधिवेशनका लागि सदस्यता आव्हान गर्ने जस्ता निर्णयहरू सर्वसम्मत रूपमा कार्यसमितिले निर्णय गरेको बताए l

स्वतन्त्र रूपमा अगाडी बढ्न चाहेको एनसीसी कतारका अध्यक्ष भट्ट र महासचिव मगर एकताको महाधिवेशनमा सहभागी भएसँगै बादी केसी समूह रुष्ट भएको बताइन्छ l यद्यपि एनसीसीका प्रथम उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले भने एनसीसी कतार सुरुवात देखि नै स्वतन्त्र रही श्रमिकका पक्षमा काम गरेको र एनसीसी कतारले नेपालमा कुनै पनि आइसीसीसंग सहकार्य नगरी नेपालमा घटेका विभिन्न आपत् बिपतका घटनामा एनसीसिकै तर्फबाट सहयोग गर्ने गरेको हुँदा केसी समूह रुष्ट भएको स्पष्ट पारे l जबसम्म केन्द्रमा एकता हुँदैन तब सम्म हामी स्वतन्त्र बस्छौ भन्ने अडानका साथ एनसीसी लागेको हुँदा केसी र कतारमा रहेका केसी समर्थित समूह पनि रुष्ट भएको नतिजा एनसीसी कतारमा अन्तिम परिषद् भेला हुने दिन सम्म सँगै सहयात्रा गरेका सहकर्मीहरू आफूहरूबाट अलग भएको बताउँछन् l

जुन २७ भित्र तेस्रो परिषद् (अन्तिम) भेला सम्पन्न गर्न सहमतिका प्रयास असफल भएसँगै २५ जुनमा एनसीसी कतारले एक सूचना जारी गर्दै ४ जुलाईमा भर्चुअल रूपमा भेला आयोजना गर्ने नयाँ मिति सार्वजनिक गर्‍यो l भेलाको मिति सार्वजनिक भएको ५ दिन अर्थात् ३० जुनको बिहान बद्री केसी समूहले रमेश भट्टले नेतृत्व गरेको एनसीसीलाई दिएको मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्यक्ष केशव कार्कीलाई ११ औ अधिवेशन संयोजकको जिम्मेवारी तोकेको पत्र पठायो l सोही दिन साँझ एनसीसी कतारले प्रेस विज्ञप्ति जारी गर्दै आइसिसीको उक्त पत्रलाई खेद जनकका रूपमा खण्डन गर्दै आइसिसीमा विवाद रहँदा सम्म एनसीसी कतारले सम्भव भए सम्म आफ्नै पोर्टल बनाउने र MIS प्रणाली मार्फत सदस्यता वितरण गर्ने निर्णय गरिएको गरेको स्पष्ट पार्दै १८ मे २०२५ मा एनसीसी कतारका निवर्तमान महासचिव पदम गिरीद्वारा आईसीसीलाई पत्राचार गरी एनसीसीलाई बाइपास गरी एनसीसी कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र केवी हमाललाई अवैधानिक रूपमा MIS प्रणाली मार्फत सदस्यता प्रमाणीकरण गर्ने अधिकार प्रत्यायोजन गर्नु तथा २३ मे को अन्तिम परिषद् भेला सुरु गर्न प्रमुख अतिथिको प्रतीक्षामा रहेको अवस्थामा आम सहमतिको नाममा भेला नै रद्द गर्ने साथै निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र निवर्तमान महासचिव पदम गिरि बाट सदस्यता प्रमाणीकरण गर्ने प्रक्रिया अन्तिम परिषद् भेला सम्म रोक्ने प्रस्ताव आउनु नै समाज विगठन गर्ने उहाँहरूको उद्देश्य रहेको स्पष्ट पार्‍यो l एनसीसी कतारले आइसिसीको नाममा कतारमा रहेको नेपाली समाजलाई विभाजित गरी पक्ष विपक्ष बनाउनु खेदजनक रहेको र आइसिसीमा विवाद कायम रहँदा सम्म कतारको एनसीसी कुनै पनि समूहमा नलाग्ने पुर्ववत निर्णयमा अडिग रहेको प्रतिबद्धता व्यक्त गर्‍यो l

आफूलाई जिम्मेवारी दिएपछि आफ्नो जिम्मेवारी पुरा गर्न कार्की लागिरहेको अवस्थामा जुलाई ४ मा अन्तिम परिषद् सम्पन्न गरी आफ्नै पोर्टलबाट भट्ट समूहले र MIS सिस्टम मार्फत कार्की समूले सदस्यता आवेदन लिन थाले l यस बिचमा संयोजक कार्की समूहले अगस्त एक तारिक एघारौँ अधिबेसन् गर्ने घोषणा गरे भने भट्ट समूहले भेलाबाट २५ जुलाईमा एघारौँ अधिवेशन गर्ने घोषणा गरी अगाडी बढी रहे l कतारमा रहेका र कतारको एसिसिलाई चासो दिने सामाजिक सञ्जाल प्रयोग कर्ताहरू समेत पक्ष विपक्षमा लागेर चासो चिन्तन व्यक्त गरे l समाजमा दुई घारमा जानबाट जोगाउन आ-आफ्नो स्थानबाट व्यक्तिगत पहलकदमी भए पनि कतारमा रहको नेपाली महिला समाज र पत्रकार महासङ्घले मध्यस्थता गर्दै दुवै पक्षलाई जुलाई ८ तारिक छलफलमा बोलायो l मुन्ताजामा रहेको गोरखाली रेस्टुरेन्टमा मध्यरात सम्म भएको छलफलमा कुनै सहमति या निष्कर्ष निस्कन सकेन l

आ-आफ्ना गतिबिधिहरुलाई अगाडी बढाएका भट्ट र कार्कीलाई ” एनसिसि कतारको एकताका लागि” फेरी एकै ठाउँमा कतारमा रहेका नेपाल पत्रकार महासङ्घ शाखा कतार, ⁠नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाली महिला समाज, कोसी प्रदेश , ⁠मधेस प्रदेश, ⁠बाग्मती प्रदेश गण्डकी प्रदेश, ⁠लुम्बिनी प्रदेश, कर्णाली प्रदेश समन्वय परिषद् कतार, ⁠सुदूर पश्चिमेली नेपाली समाज, ⁠अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज र दलित एकता सञ्जाल नेपाल, कतारले छलफलका लागि बोलायो l यस पटकको छलफल निकै चर्काचर्कीका बिच सम्पन्न भए पनि उपलब्धि हिन बन्न पुग्यो l भट्ट समूहले एमआइएसमा जान तयार रहेको बताए पनि ३ डलर केन्द्रलाई पठाउने कुरामा सहमति जनाएँनन भने कार्कीले आफू संस्थापन पक्ष रहेको हुँदा नेतृत्व आफूले पाउनु पर्ने र ३ डलर पनि पठाउन पर्ने बताए l तर छलफलका क्रममा ३ डलर नपठाउने भए सदाका लागि नपठाउने निर्णय गरौँ भन्ने तर्क कार्कीले राख्दा पनि एकता हुन् सकेन तर दुवै पक्षले आइसिसिलाइ अधिवेशन स्थगित गर्न पत्र लेख्ने सहमति गरियो l सहमति अनुसार पत्र लेख्न सामाजिक अगुवा तथा एनआरएन अभियन्ताहरू शनि कुमार ओली, चानक पोखरेल र विमल सुबेदीलाई जिम्मेवारी प्रदान गरियो l

अग्रजहरूको पत्रको जवाफमा एउटा आइसिसीको नेतृत्व गरिरहेका महेश श्रेष्ठले समाज मिलाएर लैजान सुझाव सहित पत्रको जवाफ दिए भने अर्को आइसिसीको नेतृत्व गरिरहेका बद्री केसीले तोकिएको मितिमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिँदै अधिवेशन स्थगित गर्न अस्वीकार गरेको पत्र पठाएको मध्यान्हले प्राप्त गरेको छ l एकता हुन् नसकेपछि भट्ट समूहले भोलि शुक्रवार ग्लोबल एनआरएनए एनसीसी सहित ११ औँ राष्ट्रिय एकता महाधिवेशनको आयोजना गर्न प्रारम्भिक चरणमा प्राप्त उम्मेद्वारहरुको नामावली सार्वजनिक समेत गरिसकेको छ l

प्रकाशित मिति : २०८२ साउन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस