२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

विमानस्थलमा टिकट दलाली : यात्रु लुटिन बाध्य

दोहा ,कतार  – दशैं–तिहार जस्ता पर्वमा स्वदेश फर्कने यात्रुहरू विमानस्थलमा दलाली र महँगो टिकटको मारमा पर्न बाध्य भइरहेका छन्। कतारबाट स्वदेश फर्कने क्रममा नेपाली नागरिक दिपक रिमालले आफ्नो फेसबुकमा लेखेका अनुभवले फेरि विमानस्थलमा बढ्दो अव्यवस्था र लुटतन्त्रको वास्तविकता उजागर गरेको छ।

रिमालका अनुसार, उनी अन्तर्राष्ट्रिय विमानस्थलबाट घरेलु टर्मिनल पुगेपछि अनलाइन टिकट चेक गर्दा मिलेन। साथी–भाइ र आफन्तलाई सहयोगको लागि सम्पर्क गर्दा पनि कुनै उपाय नलागेपछि ‘दल बहादुर दाई’ नाम गरेका एक व्यक्तिले उनलाई सहयोग गर्ने आश्वासन दिए।

“भित्र एयरलाइन्सबाट निस्कनु भयो दाई। हातमै टिकट थियो। तर २० हजार रुपैयाँ भन्नुभयो। मैले त्यत्रो पैसा नभएको बताएपछि १५ हजारभन्दा एक पैसा कम नहुने अडान लिनुभयो,” रिमालले लेखेका छन्। अन्ततः उनले सो दलाललाई १४ हजार ४०० रुपैयाँ अनलाइनमार्फत तिरेर टिकट लिन बाध्य भएको उल्लेख गरेका छन्।

रिमालले यसअघि पनि उस्तै परिस्थिति झेल्दै १० हजार तिरेर टिकट लिनुपरेको अनुभव बाँडेका छन्। यस पटक भने उनले १५ हजार तिरेको जनाउँदै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उनले लेखेका छन्, “देशमा सुशासन आउँदै हो कि जे थियो त्यो पनि सकिँदै हो? दशैं–तिहारमा विशेषगरी विमानस्थलमा यात्रुहरू लुटिने अवस्था रहिरहँदा प्रधानमन्त्री र मन्त्रीहरूले प्रचारप्रसारमा मात्रै ध्यान दिनुभन्दा यस्ता साना तर महत्वपूर्ण विषयमा ध्यान दिनुपर्छ।”

यात्रुहरूले बारम्बार गुनासो गर्दा पनि विमानस्थलभित्र सक्रिय दलाल र कर्मचारीको मिलेमतोमा टिकट कालोबजारी रोक्न नसक्दा नागरिक उड्ययन प्राधिकरणको भूमिकामाथि पटकपटक प्रश्न उठ्दै आएको छ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस