एउटी जापानी युवतीको तीन–चार मिनेटको व्यवहारले मेरो मनमा जीवनभरका लागि एउटा मीठो सम्झना र गहिरो प्रश्न छोडेर गयो।
पोखराबाट काठमाडौंको यात्रा थियो। पोखरा विमानस्थलमा जहाज चढ्न यात्रुहरूलाई बसमा राखेर विमानसम्म पुर्याइँदै थियो। म बसभित्र उभिएको थिएँ। नजिकैको सिटमा एउटी जापानी युवती बसिरहेकी थिइन्।
सायद उनले मलाई नियालिरहेकी थिइन्। एकाएक उनी जुरुक्क उठिन् र आफू बसिरहेको सिटमा बस्न मलाई आग्रह गरिन्।
म केही क्षण अकमक्क परेँ। किनकि त्यो आग्रह अप्रत्याशित थियो। सुरुमा त मैले खासै अर्थ लगाउन सकिनँ। तर केही बेरपछि मेरो ध्यान आफ्नै फुलेका कपाल र दाह्रीतिर गयो। सायद उनले मलाई उमेरले पाको देखिन्। वृद्ध उमेरका मानिसलाई उभिएको देखेर आफू बसिरहन उनको मनले दिएन होला!
जम्माजम्मी तीन–चार मिनेटको बस यात्रा थियो। तर उनको त्यो सानो व्यवहारले मेरो मनमा अनेकौँ प्रश्न जन्माइसकेको थियो।
के उनले ममाथि दया देखाएकी थिइन् कि उनको संस्कारले मलाई सम्मान गर्न सिकाएको थियो?
बसको यात्रा सकियो। हामी जहाजभित्र प्रवेश गर्यौँ। संयोग पनि कस्तो! करिब २५–३० मिनेटको त्यो हवाई यात्रामा उनै जापानी युवती मेरो छेउको सिटमा परिन्।
बसमा देखाएको उनको आत्मीय व्यवहारले मेरो मनमा उठेका प्रश्नहरू अझै शान्त भएका थिएनन्। जहाजमा पुगेपछि पनि उनले आफू बसिरहेको झ्यालपट्टिको सिट मलाई प्रस्ताव गरिन्। मैले सिट रोज्न पाउने गरी उनले फेरि आफ्नो सहजता त्यागिन्।
मलाई खुसी लागिरहेको थियो। तर त्यो खुसीसँगै एउटा जिज्ञासा पनि बढिरहेको थियो। आखिर यो व्यवहारको आधार के थियो; उमेरप्रतिको दया कि संस्कारभित्रको सम्मान?
मनमा लागेको कुरा नसोधी रहन सकिनँ। मैले उनीसँग सोधेँ।
उनले बालसुलभ मुस्कानसहित सुस्तरी जवाफ दिइन्, ‘यो संस्कार हो। संस्कारभित्र दया होइन, सम्मान हुन्छ।’
उनको त्यो जवाफले मलाई झनै अर्थपूर्ण बनायो। अझै खुसी त त्यतिबेला लाग्यो, जब उनले मलाई ‘अंकल’ भनेर सम्बोधन गरिन्।
आहा! कति आत्मीय सम्बोधन! कति सरल व्यवहार! कति सुन्दर संस्कार!
सायद उनको देशमा उमेरले पाका मानिसलाई गरिने सम्मान उनको दैनिक जीवनकै एउटा सामान्य अभ्यास होला। तर मेरा लागि त्यो सामान्य व्यवहार थिएन। त्यो त मनको कुनै कुनामा गहिरोसँग बसेको एउटा अविस्मरणीय अनुभूति बन्यो।
त्यो दिनको उडान अर्को अर्थमा पनि विशेष रह्यो। जीवनमा पहिलोपटक निर्धारित समयमै उडेको घरेलु उडान थियो त्यो। तर समयमै उडेको जहाजभन्दा पनि मेरो मनमा गहिरो छाप छोडेर गइन् ती जापानी युवतीले।
विमानले पोखराको धर्ती छोडेर काठमाडौंको आकाशतिर यात्रा गरिरहँदा मेरो मन भने उनको तीन–चार मिनेटको व्यवहारमै अल्झिरहेको थियो।
म नेपाली हुँ। हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कार, परम्परा र मान्यता छ। घरपरिवारमा आमाबुबा, हजुरबा–हजुरआमालाई आदर गर्ने कुरा हामी सानैदेखि सिक्छौँ। तर व्यवहारमा हामीले त्यो संस्कार कति आत्मसात् गरेका छौँ? सार्वजनिक यातायातमा उभिएका वृद्धवृद्धालाई देख्दा हामीमध्ये कति जनाले स्वेच्छाले आफ्नो सिट छोड्छौँ? कति जनाले उनीहरूको उमेर र अवस्थालाई सम्मानपूर्वक बुझ्छौँ?
हामीले संस्कारको कुरा धेरै गर्छौँ, तर संस्कारको वास्तविक परीक्षा त यस्तै सानातिना व्यवहारमा हुने रहेछ। कसैलाई सम्मान गर्न ठूलो पद, सम्पत्ति वा औपचारिक समारोह चाहिँदैन। कहिलेकाहीँ आफ्नो सिट छोडिदिनु, आत्मीयतापूर्वक बोलिदिनु र कसैको उमेरलाई बोझ होइन, सम्मानको आधार ठानिदिनु नै पर्याप्त हुन्छ।
आजकल ऐनामा आफ्नो फुलेको कपाल र दाह्री देख्दा पहिले जस्तो उमेर ढल्कँदै गएको चिन्ता लाग्दैन। बरु ती फुलेका कपाल र दाह्रीले मलाई एउटा सुन्दर सम्मानको अनुभूति दिलाएका छन्।
म बूढो हुँदै गएकोमा होइन, उमेरलाई सम्मान गर्ने संस्कारको एउटा सुन्दर अनुभूति पाएकोमा खुसी छु।
त्यसैले अब मलाई आफ्नो कपाल र दाह्री फुलेको चिन्ताभन्दा कसैले त्यसलाई सम्मानका दृष्टिले हेरिदिएको खुसी ठूलो लाग्न थालेको छ।
सोचिरहेछु, हाम्रो नेपाली संस्कार पनि व्यवहारमा यस्तै भइदिए कति सुन्दर हुन्थ्यो होला! उमेर ढल्केका आमाबुबा, हजुरबा–हजुरआमा र ज्येष्ठ नागरिकले दया होइन, सम्मान पाउने समाज बनाउन सके कति राम्रो हुन्थ्यो होला!
किनकि दया र सम्मान एउटै कुरा होइनन्। दयाले कसैलाई कमजोर ठान्न सक्छ, तर सम्मानले उसको जीवनभरको अनुभव, उमेर र अस्तित्वलाई स्वीकार गर्छ।
त्यो छोटो यात्रामा भेटिएकी जापानी नानीलाई सायद यो घटनाको कुनै ठूलो स्मरण नहोला। तर उनले मलाई दिएको त्यो सम्मान मेरो स्मृतिमा लामो समयसम्म जीवित रहनेछ।
कपाल फुल्नु उमेर बढ्नुको संकेत रहेछ, तर कसैको संस्कारमा सम्मानित हुनु जीवनको सुन्दर उपलब्धि रहेछ।
अन्ततः, त्यो दिन मैले पोखराबाट काठमाडौंसम्मको यात्रा मात्र गरिनँ, सम्मानको वास्तविक अर्थ बुझाउने एउटा सुन्दर संस्कारको यात्रा पनि गरेँ।