२०८३ असार ४ गते बिहिवार | 2026 June 18th Thursday

नेपालले ओमानलाई ३८ रनले हराउँदै सुपर–६ मा शीर्ष स्थान कायम

नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ। यो जितसँगै नेपाल सुपर–६ को शीर्ष स्थानमा उक्लिएको छ र ८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको ओमानको ६ अंक छ। नेपालले अब शुक्रबार समोआविरुद्ध अन्तिम खेल खेल्नेछ।

बुधबार ओमानको अल अमेरतमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो। जवाफमा ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रनमात्र जोड्न सक्यो।

नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित ६९ रन बनाए। यो उनको टी–२० अन्तर्राष्ट्रियमा १३औँ र यो प्रतियोगितामा दोस्रो अर्धशतक हो। अर्का ओपनर आसिफ सेखले २० बलमा २ चौका र १ छक्कासहित २४ रन जोडे। यी दुईले ७.३ ओभरमा ६१ रनको साझेदारी गरेर टोलीलाई बलियो सुरुआत दिलाए। गुल्सन झाले ९ बलमा २ छक्कासहित १८ रन र मोहम्मद आदील आलमले १५ बलमा ३ चौकासहित १६ रन थपे।

ओमानका नदीम खानले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। सुफयान मेहमुद र जितेन रमानन्दीले २–२ विकेट हात पारे।

जवाफी ब्याटिङमा ओमानका विनायक शुक्लाले ३२, मोहम्मद नदीमले २५, कप्तान जतिन्दर सिंहले १४ र आर्यन बिष्टले ११ रन बनाए। नेपालका गुल्सन झाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २–२ विकेट र सन्दीप लामिछानेले १ विकेट लिए।

नेपालले सुपर–६ मा यूएईविरुद्ध १ रन र कतारविरुद्ध ५ रनको जित निकालेको थियो। समूह चरणमा कुवेतलाई ५८ रन र जापानलाई ५ विकेटले हराएको थियो। यो जितले नेपालले आगामी टी–२० विश्वकपमा स्थान पक्का गरेको छ, जुन नेपालको तेस्रो विश्वकप सहभागिता हुनेछ। ओमानले पनि विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस