२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

कतारको फ्यान जोनमा नेपाली कलाकारहरूको प्रस्तुति

एनआरएनए कतारको समन्वयमा तामाङ समाजका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, सूचना मार्फत जानकारी

दोहा (कतार), कात्तिक २०

कतारमा भइरहेको फिफा U-17 विश्वकप र अरब कप फुटबल प्रतियोगिताको अवसरमा सञ्चालन भइरहेको फ्यान जोनमा नेपाली समुदायको प्रतिनिधित्व हुने भएको छ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारको कला तथा सांस्कृतिक विभागले एक सूचना जारी गर्दै नेपाली कलाकारहरूको प्रस्तुतीबारे जानकारी गराएको छ।

सूचना अनुसार, तामाङ समाज कतारका कलाकारहरूले एनआरएनए कतारको समन्वयमा आज (बिहीबार) साँझ एस्पायर जोनस्थित फिफा फ्यान जोनमा सांस्कृतिक प्रस्तुति दिने भएका छन्।

कार्यक्रम साँझ ५ बजेबाट ८ बजे सम्म सञ्चालन हुनेछ।

(गुगल लिंक https://maps.app.goo.gl/ZiesLCufHJCqTCBk8)

एनआरएनए कतारका कला तथा सांस्कृतिक विभाग संयोजक ईशान रेग्मीद्वारा जारी सूचनामा भनिएको छ-“कतारमा भइरहेको विश्वस्तरीय फुटबल प्रतियोगितामा नेपाली कलाकारहरूले आफ्नो मौलिक कला र संस्कृति प्रस्तुत गर्न पाउनु गौरवको विषय हो। यसले नेपाली समुदायको एकता र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न सहयोग पुर्‍याउनेछ।”

कार्यक्रममा तामाङ समाजका कलाकारहरूले लोकगीत, नृत्य र पारम्परिक सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

सूचनामार्फत आयोजकहरूले दोहामा रहेका संघ–संस्था प्रमुख, सामाजिक अभियन्ता, बुद्धिजीवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कलाकारहरूलाई हौसला प्रदान गर्न हार्दिक अनुरोध गरेका छन्।

आयोजकहरूको विश्वास छ कि यस किसिमका प्रस्तुतीहरूले नेपाली कला, संस्कृति र समुदायबीचको सहकार्यलाई बलियो बनाउनेछ।

 

 

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस