२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

फ्यानजोनमा १७ देशका कलाकारहरुको प्रस्तूति, नेपाली कलाकारहरुको उत्कृष्ट प्रदर्शन

तामाङ सेलोले जित्यो दर्शकको मन

दोहा (कतार), कात्तिक २०

कतारमा जारी फिफा U-17 विश्वकप र अरब कप फुटबल प्रतियोगिताको अवसरमा कतारको अस्पायर जोन स्थित फ्यानजोनमा सञ्चालन भइरहेको  नेपाली कलाकारहरूको प्रस्तुति अत्यन्तै सफल र मनमोहक बनेको छ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारको कला तथा सांस्कृतिक विभागको समन्वयमा तामाङ समाज कतारका कलाकारहरूले प्रस्तुत गरेको मौलिक तामाङ सेलो विशेष रूपमा रुचाइएको छ।

कार्यक्रममा कलाकारहरु मिलन गुरुङ, रोहित बस्नेत, बिशाल नेपाली, शृष्टि लामा, सरिता वान्तवा र कुमारी तामाङले प्रस्तुत गरेका लोकनृत्य र सेलो गीतमा दर्शकहरू उत्साहित बनेका थिए।

नेपाली टोलीको प्रस्तुति यति प्रभावशाली रह्यो कि नेपालसहित १७ देशका प्रवासी समुदायबीच नेपाली प्रस्तुति उत्कृष्ट ठहर गरिएको आयोजक पक्षले जनाएको छ।

उत्तम प्रदर्शनको कदरस्वरूप नेपाली टोलीलाई थप प्रस्तुतीका लागि अतिरिक्त समय प्रदान गरिएको थियो। फ्यान जोन व्यवस्थापनले अर्को दिनको प्रस्तुती तालिका पछि सार्वजनिक गर्ने जनाएको छ।

कार्यक्रमलाई सहजीकरण गरिरहेका एनआरएनए-एनसीसी कतारका प्रथम उपाध्यक्ष रोशन अर्यालले जानकारी दिँदै भने, “नेपाली कलाकारहरूको तामाङ सेलो प्रस्तुति दर्शकले अत्यन्तै मन पराए। त्यसैले आयोजकहरूले अर्को तालिकामा थप मौलिक नेपाली सांस्कृतिक प्रस्तुतीहरू समेत समावेश गर्न अनुरोध गरेका छन्।”

एनआरएनए कतारका कला तथा सांस्कृतिक विभाग संयोजक ईशान रेग्मीले पनि यस प्रस्तुतीले नेपाली कला, संस्कृति र समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा चिनाएको बताए।

फ्यान जोनमा भएको यो प्रस्तुतीले नेपाली सांस्कृतिक विविधता र मौलिकतालाई विश्व मञ्चमा उजागर गरेको सहभागीहरूले धारणा व्यक्त गरे।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस