२०८३ जेष्ठ २० गते बुधवार | 2026 June 3rd Wednesday

कतारमा रहेका नेपाली श्रमिकका लागि दूतावासद्वारा सचेतना कार्यक्रम सम्पन्न

दोहा,

नेपाली राजदूतावास, दोहा, कतारको आयोजनामा मिति २३ जनवरी २०२६का दिन कतारमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि “नेपाली श्रमिकहरूका लागि सचेतना कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य, मानसिक स्वास्थ्य, नेपाल र कतारका श्रम कानून, राजदूतावासबाट प्रदान गरिने राहदानी तथा कन्सुलर सेवाहरू, साथै रेमिटेन्स पठाउने वैधानिक प्रक्रिया लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो। श्रमिकहरूको अधिकार, कर्तव्य र सुरक्षासम्बन्धी विषयमा विशेषज्ञहरूले प्रस्तुतीकरण गर्दै सहभागीहरूलाई व्यवहारिक जानकारी गराएका थिए।

कार्यक्रमको उद्घाटन कार्यवाहक राजदूत श्री कुमार राईले गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको हकहित, सुरक्षा र कल्याणका लागि दूतावास सधैं प्रतिबद्ध रहेको बताउँदै यस्ता सचेतनामूलक कार्यक्रमले श्रमिकहरूको जीवन र कामकाजी वातावरण सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा दुई सयभन्दा बढी नेपाली कामदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्राप्त जानकारी उपयोगी रहेको प्रतिक्रिया दिँदै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस