दोहा – नेपाली महिला समाज, कतारको १५औँ स्थापना दिवस तथा छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

उद्घाटन र बन्दसत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्दसत्रबाट शुष्मा खतिवडा कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मेनुका खतिवडा भण्डारी, द्वितीय उपाध्यक्षमा माया खड्का कुँवर, तृतीय उपाध्यक्षमा लिला राई, महासचिवमा शारदा भुजेल, सचिवहरूमा दीपा सिंह र रविना पुलामी मगर, कोषाध्यक्षमा गीता पुन थापा र सहकोषाध्यक्षमा सबिता दाहाल भट्टराई चयन भएका छन्।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा सुनिता कोइराला आचार्य, उषा परियार, निशा पराजुली, अनिता राई, सम्झना गुरुङ, कला घिमिरे, रोशनी घिमिरे, सुनिता आचार्य, सलिमा मियाँ, तारा बिसी, सन्ध्या भण्डारी, शान्ता कटुवाल, प्रेमकला राई, सीता बिक, शर्मिला चौधरी र गन्धवी चौधरी रहेका छन्।नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिकी संयोजक अमिना खानले पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

कतारस्थित होलिडे भिल्लाको हलमा आयोजित अधिवेशनको उद्घाटन सत्र समाजकी अध्यक्ष माया केसीको अध्यक्षता तथा कतारका लागि नेपाल सरकारका कार्यवाहक राजदूत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा समाजकी महासचिव मेनुका खतिवडा भण्डारीले संस्थाले साढे दुई वर्षको अवधिमा गरेका गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरीन। त्यसैगरी, कोषाध्यक्ष दीपा सिंहले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यकालभरि १ लाख २१ हजार ७ सय ४६ रियाल आम्दानी, १ लाख १७ हजार ५ सय ८९ रियाल खर्च र ४ हजार १ सय ५७ रियाल बचत रहेको जानकारी गराईन ।
उद्घाटन सत्रमा कतारमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष, प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, कलाकार तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले संस्थाको १५ वर्षे यात्राको समीक्षा गर्दै महिला सशक्तीकरण, सामाजिक एकता तथा परोपकारी अभियानमा संस्थाले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए।

कार्यक्रममा संस्थापक अध्यक्ष, मानार्थ सदस्य तथा पूर्वअध्यक्षहरूले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा स्मरण गर्दै आफ्ना अनुभव साझा गरेका थिए। उनीहरूले तत्कालीन कतारका लागि नेपाल सरकारकी भूतपूर्व राजदूत मालतीकुमारी शर्मा को विशेष भूमिका र सहयोगलाई स्मरण गर्दै कृतज्ञता व्यक्त गरेका थिए। उहाँहरूको सकारात्मक सहयोग र प्रोत्साहनले संस्थाको स्थापना तथा संस्थागत विकासमा महत्त्वपूर्ण आधार तयार भएको वक्ताहरूले बताएका थिए।
वक्ताहरूले महिला समाज स्थापना गर्दाका चुनौती, प्रारम्भिक संघर्ष, सीमित स्रोतसाधनबीच संस्थालाई अघि बढाउन गरिएको मेहनत तथा विभिन्न अप्ठ्यारा परिस्थितिलाई पार गर्दै आजको अवस्थासम्म आइपुगेको गौरवपूर्ण यात्राबारे प्रकाश पारेका थिए। साथै, आगामी दिनमा संस्थाको एकता, निरन्तरता र सक्रियतालाई अझ मजबुत बनाउन सबै सदस्यहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।

उद्घाटन सत्रमा संस्थाका वर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। त्यस्तै, समाजका संस्थापक, पूर्वअध्यक्ष, प्रमुख सल्लाहकार तथा संस्थाको विकास र विस्तारमा योगदान पुर्याउने अग्रज व्यक्तित्वहरूलाई पनि विशेष सम्मान अर्पण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राजदूत कुमार राईलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो। साथै, नेपाली दूतावास, दोहामा कार्यरत जनसम्पर्क अधिकारी (PRO) ताजलाई ढाकाटोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। नेपाली श्रमिक तथा विशेषगरी नेपाली महिलाका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उहाँप्रति कृतज्ञता व्यक्त गरिएको थियो।
कार्यक्रममा नेपाली महिला समाजसँग विभिन्न समयमा सहकार्य गर्दै आएका सामाजिक संघसंस्था, दाताहरू, कलाकार तथा सामाजिक व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। सञ्चारमाध्यम मार्फत समाजका गतिविधिहरूलाई नेपाली समुदायसम्म पुर्याउने पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो। सम्मानित ब्यक्तित्वहरुलाई ढाकाटोपी, दोसल्ला, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो।

सोहि अवसरमा पाल्पाली सेवा समाज, कतारले नेपाली महिला समाजलाई मायाको चिनोस्वरूप विशेष कोशेली (उपहार) प्रदान गरेको थियो। त्यसैगरी, तमु (गुरुङ) समाज, कतारले पनि संस्थागत सहकार्य र सद्भावको प्रतीकस्वरूप कोशेली उपहार प्रदान गरेको थियो। दुवै संस्थाबाट प्राप्त कोशेली ग्रहण गर्दै नेपाली महिला समाजका तर्फबाट सम्बन्धित संस्थाका पदाधिकारीहरूलाई ढाकाटोपी तथा खादा लगाई सम्मान र कृतज्ञता व्यक्त गरिएको थियो।
संस्थामा विशेष योगदान पुर्याउने सामाजिक व्यक्तित्वहरू रमेश भट्ट, तेज कटुवाल र केशव कार्कीलाई मानार्थ सदस्यका रूपमा मनोनयन गर्दै सम्मानपूर्वक सदस्यता प्रदान गरिएको समाजले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत कुमार राईले कतारमा रहेका नेपाली महिलाहरूको सशक्तीकरणका लागि अझ प्रभावकारी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै संस्थाको आगामी प्रगतिका लागि शुभकामना व्यक्त गरे।
अधिवेशनको उद्घाटन सत्रको समापन गर्दै सभाध्यक्ष माया केसीले पूर्वअध्यक्ष अमिना खानले परिकल्पना गरेको कल्याणकारी कोष स्थापना भएको औपचारिक घोषणा गरीन। उहाँकै संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जानकारी पनि दिईन। उक्त कोषमार्फत कतारमा रहेका नेपाली महिला तथा चेलीबेटीहरूलाई आकस्मिक समस्यामा सहयोग र राहत उपलब्ध गराइने बताएकी थिईन ।
कार्यक्रमको प्रारम्भमा समाजकी प्रथम उपाध्यक्ष सन्ध्या अर्यालले स्वागत गरेको कार्यक्रममा कलाकार टीका मगरले स्वागत नृत्य प्रस्तुत गरेकी थिईन। कार्यक्रममा लोक तथा दोहोरी गायिका तारा बिसीले सांगीतिक प्रस्तुति दिँदै उपस्थित अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेकी थिईन ।
