दोहा, कतार — प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय अधिवेशन तथा समुद्घाटन समारोह आगामी अगस्ट ७, २०२६ (शुक्रबार) दोहाको अल दफ्नास्थित Centra West Bay Hotel & Suites मा आयोजना हुने भएको छ।
“सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको यस ऐतिहासिक अधिवेशनको समुद्घाटन समारोहमा नेपालबाट पाल्नुहुने प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सुहाङ नेम्वाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।

संस्थाका अध्यक्ष चुडामणि कार्कीका अनुसार जनताको बहुदलीय जनवाद (जबज) ले अंगालेको लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको मार्गलाई थप सुदृढ बनाउने विश्वासका साथ यो अधिवेशन आयोजना गरिएको हो। प्रमुख अतिथि नेम्वाङको उपस्थितिले कतारमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरूमा नयाँ ऊर्जा, प्रेरणा र उत्साह थप्ने आयोजकको विश्वास रहेको छ।
स्थापनाकालदेखि नै कतारमा कार्यरत श्रमिक नेपालीहरूको हक, हित, उद्धार तथा अधिकार संरक्षणका लागि प्रवासी नेपाली मञ्च कतार निरन्तर क्रियाशील रहँदै आएको छ। कतारको श्रम कानुन सम्बन्धी सचेतना फैलाउनुका साथै अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूलाई कानुनी, सामाजिक र मानवीय सहयोग उपलब्ध गराउन मञ्चले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको छ। नेपाली दूतावास तथा स्थानीय निकायहरूसँगको समन्वयमा वैदेशिक रोजगारीका क्रममा देखा पर्ने विभिन्न समस्या र चुनौतीहरूको सहजीकरणका लागि मञ्चले निरन्तर पहलकदमी लिँदै आएको छ।
कार्यक्रमका बारेमा जानकारी दिँदै संस्थाका सचिव शेषराज तिमिल्सिनाले कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकता, अनुशासन, राष्ट्रप्रेम र सकारात्मक सोचका साथ सहभागी भई समृद्ध नेपाल र सुखी नेपाली निर्माणको साझा यात्रामा ऐक्यबद्धता प्रकट गर्न हार्दिक निमन्त्रणा गरिएको बताउनुभयो।
साथै, आयोजक मञ्चले सबैलाई समयमै उपस्थित भई कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाइदिन सादर अनुरोध गरेको छ।