२०८१ कार्तिक ३ गते शनिवार | 2024 October 19th Saturday

कतारमा रहेका नेपालीहरूलाई श्रम स्वीकृति लिन दूतावासको आग्रह

दोहा-वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीहरूलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै वैदेशिक रोजगार विभागको वेबसाइटबाट श्रम स्वीकृति गर्न कतारस्थित नेपाल राजदूतावासले आग्रह गरेको छ।

श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै वैदेशिक रोजगार विभागको वेबसाइटबाट गएर श्रम स्वीकृति नवीकरण गर्न राजदूतावासले आग्रह गरेको हो।
दूतावासले एक सूचना प्रकाशित गर्दै आफू कार्यरत रहेकै मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गर्न पाउने भएपछी  यस्तो आग्रह गरेको हो ।  त्यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.gov.np मा गएर लगइन गरी श्रम स्वीकृति नवीकरण गराउन सकिने छ ।

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने कानुन व्यवस्था गरेको छ । एक पटक श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपाल आएमा पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु पर्दैन । तर, एक पटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनः विदेशमा रोजगारीको लागि जानु परेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विदेशमा रोजगारीको क्रममा मृत्यु भएको खण्डमा श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम र विदेश जानु पूर्व नेपालमा नै गरेको बीमाबाट मृतकको शव व्यवस्थापन गर्ने र परिवारलाई कानुनले तोकेबमोजिम सेवा सुविधा पाउने व्यवस्था छ ।

श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना घटी गम्भीर बिरामी भएमा कोषको रकम र वीमा बापतको रकम नपाइने भएकोले पनि श्रम स्वीकृति अपडेट हुन जरुरी रहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस