२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

लेजेन्डस् लिग क्रिक्रेटमा पारसको टोलिले भारतलाई हरायो

दोहा-लेजेन्डस् लिग क्रिक्रेटमा एसिया लायन्सले इन्डिया महाराजसलाई ९ रनले पराजित गरेको छ।

आज दोहाको एशियन टाउन क्रिक्रेट स्टेडियमा भएको खेलमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले इन्डिया महाराजसलाई ९ रनले पराजित गरेको हो ।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको महाराजसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो।

भारतका कप्तान गौतम गम्भीरले ३९ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

एसियाका मिस्बाह उल हकले ५० बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए । नेपालका पूर्व कप्तान पारस खड्का भने २ बलमा ३ रनमा अविजित रहे।अन्तिम तीन बल बाँकी रहँदा पारस खड्काले ब्याटिङको अवसर पाएका थिए ।

भारतका प्रविन्दर अवानाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । स्टुअर्ट बिन्नीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । इफरान पठान र अशोक डिन्डाले एक एक विकेट लिए ।

एसिया लायन्सले अव वल्र्ड जायन्ट्ससँग सोमबार खेल्नेछ । जायन्ट्समा आरोन फिन्च, हसिम अमला, क्रिस गेल, ब्रेट ली, ज्याकक्विस क्वालिस र शेन वाटसन जस्ता चर्चित टोली छन् ।

तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सोझै फाइनलमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस