२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा उदायो “काठमान्डौ म्युजिकल ब्यान्ड” !

दोहा-

भनिन्छ आफ्नो कला, संस्कार, संस्कृति र देश प्रेम विदेशिए पछि धेरै महत्त्वपूर्ण लाग्ने गर्छ । प्रवासबाट मातृभूमिलाई अगाध माया गर्ने गरेको पाइन्छ । मानिस जहाँ पुगे पनि आफू सँग भएको क्षमता सँगै लगेर जान्छ र त्यो उसले कहीँ न कहिँबाट प्रस्फुटन गर्छ ।

वैदेशिक रोजगारीका लागि कतार आएका केही युवाहरू मिलेर प्रतिभा उजागर सँगै समाजमा केही सकारात्मक कार्य गर्ने लक्ष्यका साथ नयाँ “काठमान्डौ म्युजिकल ब्यान्ड” को स्थापना गरेका छन् । यो ब्यान्डको स्थापनाका लागि चाँजोपाँजो भने रोशन अर्याल (कास्की) र ईसान रेग्मी (भक्तपुर) ले मिलाएका हुन । FNJ कतार न्युजसँगको कुराकानीमा सबै प्रतिभावान् कलाकारहरू हुनुहुन्छ, नयाँ केही गरौँ भनेर आफूहरुले प्रस्ताव गरे पछि सम्भव भएको उनीहरुले बताए ।

फरक – फरक जिल्लाका साथीहरू ब्यान्डमा आबद्ध गराउँदै जाने क्रममा कतारमा भर्खरै नेपाली रेष्टुरेन्ट सञ्चालनमा ल्याएका नजिर हुसेन सँग भेट भएको र यो कदममा उनले निकै महत्वपुर्ण साथ दिएको ब्यान्डका निर्देशक समेत रहेका अर्यालले जानकारी गराए l ब्यान्डको गायनमा ईशान रेग्मी, अमृत लिम्बु र रेनु बान्तवा रहेका छन् भने गायन सँगै ड्रमरमा सतिश थापाले साथ दिएका छन् l त्यस्तै बेस गिटारमा विनोद परियार, रिदम गिटारमा दिपेन राई र लिड गिटारमा प्रमोद गुरुङ छन् l विनोद राई र पूजन श्रेष्ठ(धनकुटा) गायन सँगै गिटारमा अहम् भूमिका निभाई रहेका छन् l

“नेपाली गीत सङ्गीत को संवर्द्धन एवं प्रर्बधन गरौँ” भन्ने मूल नारा सहित विधिवत् स्थापना गरिएको ब्यान्डलाई सँस्थाको रूप दिइएको छ l कतारका अन्य साङ्गीतिक सँस्था जस्तै गतिविधि गर्न र नयाँ प्रतिभालाई समेट्दै अगाडी बढ्ने लक्ष्य लिएको छ l कार्यसमितिको अध्यक्षमा नजिर रहमान, वरिष्ठ उपाध्यक्ष मुना थापा, प्रथम उपाध्यक्ष सन्तोष विश्वकर्मा, सचिव कविता खत्री, सह- सचिव कृष्ण ढकाल, कोषाध्यक्ष साया कोइराला रहेका छन् । सदस्यहरूमा रेणु बान्तवा, रश्मि श्रेष्ठ, मनिष गोस्वामी र तारा गुरुङ रहेका छन् । प्रमुख सल्लाहकारमा बलहरी राना र सल्लाहकारमा तिलु शर्मा पौडेल चयन भएका छन् । ब्यान्डको संरक्षक तथा निर्देशकमा रोशन अर्याल रहेका छन् भने सुलभ चन्द ठकुरी संयोजक र राज कुँवर सह-संयोजकका रूपमा रहेका छन् । ब्यान्डको मुख्य उदेश्य सामाजिक कार्य नै रहेको अध्यक्ष रहमानले बताए l

ब्यान्डले इदको पहिलो दिनमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने तयारीलाई तीव्रता दिएको छ भने कतारमा रहेको नेपाली दूतावासमा पुगेर दित्तिय सचिवसंग भेटघाट गरि संस्थालाई सूचिकृत समेत गरेको जानकारी सचिव कविता खत्रीले दिइन l

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस