२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

क्षेत्री समाज नेपाल कतार शाखाको १४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

दोहा, कतार: क्षेत्री समाज नेपाल कतार शाखाले आफ्नो १४ औं स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। समाजका केन्द्रीय अध्यक्ष रिव बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा कतार शाखाका अध्यक्ष श्याम कुमार डाँगीले सभापतित्व गरेका थिए।

कार्यक्रममा कतारमा रहेका समाजसेवी, बौद्धिक व्यक्तित्व तथा विभिन्न संघसंस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो। उनीहरूले क्षेत्री समाजको इतिहास र योगदानको प्रशंसा गर्दै समाजको उज्ज्वल भविष्यको कामना गरेका थिए। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले आप्रवासी नेपालीहरूको समस्या समाधानका लागि संघ सदैव प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरूले सबैलाई मनोरञ्जन प्रदान गरेका थिए। कोसेली रोकाले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने गुना मगरले मारुनी गीत गाएकी थिइन्। जिया हमालको आकर्षक नृत्य र सुमित्रा भट्टराई तथा सुरेश विसीको गायनले कार्यक्रमलाई थप रमाइलो बनाएको थियो। नवीन नबिना र पूरण सिंहको गीति कथाले प्रवासमा भोग्नुपरेका पीडा र चुनौतीहरूलाई मार्मिक रूपमा चित्रण गरेको थियो।

कार्यक्रममा समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर थापाले समाजलाई विश्वव्यापी रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताए। उनले आगामी दुई वर्षभित्र ५ करोडको अक्षयकोष स्थापना गर्ने योजना रहेको जानकारी गराए।

कार्यक्रमका प्रमुख अतिथि रिव बहादुर थापाले समाजको संशोधित विधान हस्तान्तरण गर्दै कतार शाखालाई केन्द्रीय समितिले वैधानिकता प्रदान गरेको घोषणा गरे। उनले कतार शाखालाई शुभकामना दिँदै क्षेत्री समाज राजनीतिमुक्त रहेको र प्रत्येक शाखाले आजीवन सदस्यता विस्तारमा ध्यान दिनुपर्ने बताए।

 कार्यक्रम  समापन गर्दै  सभापति श्याम कुमार डाँगीले समाजलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस