२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

समाजिक सुरक्षा कोष तथा श्रम स्वीकृति सम्बन्धि विशेष प्रशिक्षण कार्यक्रम दोहामा सम्पन्न

दोहा :- सन् : २००६ मा कतारमा स्थापना गरिएको नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवसमा जनचेतानामुलक कार्यक्रम सम्पन्न गरेको छ

स्थापना दिवसको अवसरमा महासंघले नेपाली राजदुतावास कतारको सहकार्यमा समाजिक सुरक्षा कोष र पुनः श्रम स्वीकृति सम्बन्धि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा आमन्त्रित अतिथि, सामाजिक सुरक्षा कोष नेपालकी वरिष्ठ सहायक निर्देशक शुसिला पौडेलले सामाजिक सुरक्षा कोषको महत्व, कोषमा आवद्ध हुने तरिका, पासवर्ड परिवर्तन, KYC अद्यावधिक, दाबी प्रक्रिया  जस्ता महत्वपूर्ण विषयहरूमा करिव एक घन्टा प्रशिक्षण दिइन ।

पौडेलले सामाजिक सुरक्षा कोषमा आबद्धता भएपछि पाइने सुबिधा, बिदेशबाट लैजाने टिभीमा भन्सार शुल्क लगायत थुप्रै विषयमा प्रष्ट पारिन ।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषका उद्देश्य रहेको जानकारी दिदै,  सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुकोआर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिकहकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित रहेको समेत पौडेलले बताइन ।

सामाजिक सुरक्षा कोषमा कतारबाट मात्रै करिब ३,६०,००० श्रमिकमध्ये २,९०,७९३ जना आबद्धता रहेको र एसएसएफको कोषमा अहिलेसम्म ७९ अर्ब रुपैयाँ बचत भएको जानकारी दिइन। कतारको आबद्धता सङ्ख्या वैदेशिक रोजगारीअन्तर्गत तेस्रो स्थानमा छ, जसमा “पहिलो यूएईमा ४,३४,९९२ र दोस्रो साउदी अरबमा २,९१,५९५   रहेको तथ्याङ्क छ l  कार्यक्रमले कतारमा रहनुभएका धेरै नेपालीहरुको जिज्ञासालाई सम्बोधन गरेको थियो ।

कार्यक्रममा नेपाली दूतावासको तर्फबाट र पुन: श्रम स्वीकृति, वैदेशिक रोजगारका विविध पक्ष सम्बन्धी प्रेम प्रसाद पोखरेलले जानकारी गराए ।

कन्सुलर राहदानी सेवा सम्बन्धी, सन्ध्या भट्टराई,शोभाखर बराल र श्रम सम्बन्धी हमिद खानले प्रष्ट पारे ।

दूतावास कतारको तर्फबाट सीता दुवाडीले कार्यक्रममा उपस्थिति विभिन्न संघ – संस्था तथा विविध विषयलाई प्रशिक्षण दिने वक्ता लगायत कार्यक्रममा उपस्थिति सम्पुर्णलाई धन्यवाद व्यक्त गरिन ।

कार्यक्रममा महासंघ कतारका प्रमुख सल्लाहकार करिम बक्स मियाँ, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख,सामाजिक ब्याक्तित्व पत्रकार तथा कतारमा रहेका नेपाली समुदाय सहित उल्लेख्य उपस्थिति रहेको थियो

शुक्रबार नेपाली राजदुतावास कतारको सभाहलमा संघका अध्यक्ष दिलकुमार श्रेष्ठको सभापतित्वमा तथा नेपाली राजदुतावास कतारका महामहिम राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

महासंघ कतार सचिव शारदा भुजेलको स्वागत मन्तव्य रहेको औपचारिक कार्यक्रमको सहजीकरण दिलिप पराजुली र प्रशिक्षण कार्यक्रम मा दूतावासको तर्फबाट प्रेम प्रसाद पोखरेलले सहजीकरण गरेका थिए ।

 

 

,

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस