
दोहा – सन २०२० देखि सुन–चाँदी व्यवसायमा सक्रिय विक्टोरिया गोल्ड एण्ड डायमन्डले अल खोरमा नयाँ शाखा विस्तार गर्ने भएको छ। बिहीबार राति सनैया स्थित फुलबारी स्पेसिस रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक मुहम्मद फैसलले आगामी सेप्टेम्बर १२ मा शोरुम उद्घाटन हुने जानकारी दिए।
सफारी मार्केट नजिकै डाउनटाउनको ग्राउन्ड फ्लोरमा सञ्चालनमा आउने यो पाँचौँ शाखामा करिब २० जना कर्मचारी रहनेछन्। हालसम्म १०० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको कम्पनीले नयाँ शाखामा पनि दक्ष नेपाली कारीगरमार्फत गहना डिजाइन गर्ने जनाएको छ। फैसलका अनुसार, कम्पनीले सिंगापुर, दुबई र स्विट्जरल्यान्डबाट सुन आयात गर्छ र चाँडै युके, अष्ट्रेलिया, अमेरिका तथा नेपालमा पनि शाखा खोल्ने योजना बनाएको छ।
उद्घाटन दिन विशेष अफरअन्तर्गत २४ क्यारेटका ५० ग्रामभन्दा कम गहनामा ५० प्रतिशतसम्म छुट, १०० ग्रामभन्दा बढी खरिदमा मेकिङ चार्ज फ्री, र २०० ग्रामभन्दा बढी खरिदमा सुनको “कोइन” उपहार दिने घोषणा गरिएको छ। साथै, विभिन्न शाखामा TikTok भिडियो बनाउने ग्राहकहरूमध्ये ५ जनालाई गोलाप्रथाद्वारा आकर्षक पुरस्कार प्रदान गरिनेछ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कतारका सदस्य, नेपाली महिला समाज कतारकी अध्यक्ष माया केशी, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अली, गण्डकी प्रदेश समन्वय समितिका अध्यक्ष नन्दलाल विक, एनआरएनए कतारका द्वितीय उपाध्यक्षलगायतको उपस्थिति थियो। सहभागीहरूले कम्पनीले व्यवसायसँगै नेपाली समाजलाई सहयोग गर्दै आएको भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रममा कतारबाट सुन नेपाल लैजाँदा भोग्नुपर्ने समस्या सम्बन्धी मुद्दा समेत उठाइयो। सञ्चालक फैसलले “ग्राहकको विश्वास नै मुख्य सम्पत्ति हो” भन्दै पारदर्शी व्यापारमा जोड दिए।