
दोहा, कतार
कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई लक्षित गर्दै कतारस्थित नेपाली राजदूतावास, कतारले एक अत्यन्त जरुरी सूचना जारी गरेको छ। दूतावासले विभिन्न पेशा र व्यवसायमा कार्यरत नेपालीहरूलाई कतारका कानुन, नियम र सांस्कृतिक मूल्य–मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको हो।
दूतावासले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड गर्न, मादक पदार्थ सेवन वा बिक्री वितरण गर्न, झैझगडा र अवाञ्छित हर्कतहरू गर्न निषेध गरेको छ। साथै, कतारको इमिग्रेशन तथा ट्राफिक नियम कडाइका साथ पालना गर्न, पासपोर्ट, कतार आईडी, बैंक कार्ड वा व्यक्तिगत कागजात अरूलाई नदिन चेतावनी दिएको छ।
सूचनामा कतारको कानुन विपरीत कुनै पनि गतिविधि नगर्न, कम्पनीको आइडी प्रयोग गरी अरू कम्पनीमा काम नगर्न, अनधिकृत रूपमा व्यापार वा लेनदेन नगर्न, र सामाजिक सञ्जालमा गलत जानकारी वा चरित्रहत्या गर्ने सामग्री पोस्ट नगर्न समेत अनुरोध गरिएको छ।
विशेषतः नेपाली समुदायबीच आपसी एकता र मर्यादा कायम राख्न, धार्मिक तथा सांस्कृतिक भावना र मूल्यप्रति संवेदनशील रहन र कतार सरकारको स्वीकृति विना कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न सुझाएको छ।
राजदूतावासको भनाइमा, “कतारमा रहेका सम्पूर्ण नेपालीले आफ्नो आचरण, चरित्र र कार्यद्वारा नेपालको पहिचान उँचो राख्न जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने” उल्लेख गरिएको छ।
दूतावासले सबै नेपाली समुदायलाई कतारका कानुन, सामाजिक मर्यादा र सुरक्षा मापदण्डअनुसार जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्दै सूचनाको पूर्ण पालना गर्न हार्दिक अनुरोध गरेको छ।