२०८३ जेष्ठ ५ गते मङ्गलवार | 2026 May 19th Tuesday

कतारका राजदूतसहित ११ देशका नेपाली राजदूत फिर्ता

दोहा ,कतार। सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका कतारका राजदूतसहित विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाइएको हो । फिर्ता बोलाइएका राजदूतहरूले आगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्नेछ ।

फिर्ता बोलाइएका राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी छन् ।

यद्यपि, सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस