२०८२ कार्तिक २१ गते बिहिवार | 2025 November 6th Thursday

कतारको नेपाली समुदाय सन्दर्भमा वाम एकताको अर्थ र चुनौती

दोहा कतार ,

नेपालमा हालै नेकपा (माओवादी केन्द्र) र नेकपा (समाजवादी)बीच भएको एकता नेपाली राजनीतिमा नयाँ अध्यायको रूपमा आएको छ। औपचारिक रूपमा यो कदम दस दलबीचको सहकार्यको रूपमा प्रस्तुत भए पनि यसको केन्द्रबिन्दु यही दुई वाम दल हुन्। तर यो राजनीतिक घटनाको प्रभाव केवल नेपालको सीमाभित्र सीमित छैन—यसको प्रतिध्वनि प्रवासी नेपाली समाजमा, विशेषगरी कतारको नेपाली समुदायमा, स्पष्ट रूपमा सुनिन थालेको छ।

कतारमा रहेका यी दुई दलका भातृ संगठनहरु- माओवादी केन्द्रको “नेपाली जनप्रगतिशिल मञ्च” र समाजवादीको “प्रवासी नेपाली एकता मञ्च” लामो समयदेखि सक्रिय छन्। दुबै संगठनहरूले प्रवासी नेपाली श्रमिकको हकहित, सामाजिक न्याय र राष्ट्रिय एकताको मुद्दा उठाउँदै आएका छन्। दूतावाससँगको समन्वय, श्रमिक अधिकारको वकालत, दुर्घटनामा परेका श्रमिकहरूको सहयोग तथा समुदायमूलक अभियानमा उनीहरूको भूमिका उल्लेखनीय रहँदै आएको छ। तर पछिल्ला वर्षहरूमा यी दुई संगठन सम्बन्धमा उल्लेखनीय तकरार, दूरी र अविश्वासको अवस्थाबाट गुज्रीरहेका छन्।

यिनीहरु विच वैचारिक निकटता भए पनि, संगठनात्मक प्रतिस्पर्धा, आपसी आरोप–प्रत्यारोप, गुटगत राजनीति र प्रभाव जमाउने होडका कारण कतारस्थित नेपाली समुदाय नै दुई ध्रुवमा बाँडिन पुगेको स्थिति छ। “एनसीसी कतार” जस्ता साझा संस्थाहरू पनि यही विभाजनको सिकार बन्न पुगेको तितो ईतिहास छ।

नेपालमा शीर्ष तहमा माओवादी र समाजवादी दल एकै छानामुनि आएका सन्दर्भमा, कतारस्थित यी भातृ संगठनहरूको भविष्य पनि सबैको चासोको विषय बनेको छ। के जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्च एकता प्रक्रियामा समाहित हुनेछन्, वा पुनः आफ्नो–आफ्नो मार्गमै रहनेछन्? यही प्रश्नले अहिले कतारको प्रवासी राजनीतिक वृतमा बहस सिर्जना गरेको छ।

कतारमा करिब पाँच लाखभन्दा बढी नेपाली रहेका छन्, जसको ठूलो हिस्सा श्रमिक वर्ग हो। उनीहरू राजनीतिक झैँझगडाभन्दा बढी समुदायको एकता, श्रमिक अधिकार र सहकार्य चाहन्छन्। यदि यी दुई संगठनहरूले नेपालको एकतालाई प्रवासमा पनि व्यवहारिक रूपमा लागू गर्न सके भने, यो प्रवासी नेपालीहरूको साझा पहिचान र शक्ति निर्माणको दिशामा ऐतिहासिक कदम हुनेछ। तर यदि पुरानै मनमुटाव, प्रतिस्पर्धा र आरोप–प्रत्यारोप दोहोरियो भने, प्रवासी राजनीति फेरि कमजोर र विभाजित बन्ने खतरा रहन्छ।

वास्तविक एकता प्राप्त गर्नका लागि परस्पर सम्मान, सहिष्णुता र साझा उद्देश्यप्रतिको प्रतिबद्धता अनिवार्य छ। संगठनहरूबीच वैचारिक स्पष्टता र व्यवहारिक सहकार्यको वातावरण बनाउन सकिए मात्र एकताको आत्मा जोगिनेछ। कतारस्थित यी संगठनहरूले पार्टीभन्दा माथि उठेर प्रवासी नेपालीको हितलाई प्राथमिकता दिन सके भने, यो एकता प्रवासी राजनीतिमा नयाँ अध्याय बन्न सक्छ।

त्यसैले, कतारमा वाम एकताको परीक्षण कागजमा होइन—व्यवहारमा होस् भन्ने शुभेक्षा सबैतिर छ।

“नेपाली जनप्रगतिशिल मञ्च” र “प्रवासी नेपाली एकता मञ्च” ले सहकार्यको नयाँ संस्कार स्थापना गरे भने, यो केवल दलगत पुनर्गठन मात्र होइन, सम्पूर्ण प्रवासी नेपाली समाजको एकताको प्रतीक बन्नेमा दुईमत छैन । तर यदि विगतका वैनश्यताका घाउहरु बोकेर अघि बढियो भने, यो अवसर फेरि गुम्नेछ। कतारका वाम कार्यकर्ताहरूको दृष्टिकोण, परिपक्वता र व्यवहार नै अब प्रवासी वाम एकताको भविष्य निर्धारण गर्ने मुख्य आधार बन्नेछ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस