२०८२ पुष १५ गते मङ्गलवार | 2025 December 30th Tuesday

कतारमा नेपाली मुस्लिम समुदाय स्तब्ध : पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा गहिरो शोक

दोहा, कतार – २३ कात्तिक २०८२ (९ नोभेम्बर २०२५) । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज, कतारले नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वमन्त्री तथा नेपाली मुस्लिम समुदायका प्रखर योद्धा मोहम्मद आफताब आलमको निधनमा गहिरो शोक व्यक्त गरेको छ।
समाजले जारी गरेको शोक विज्ञप्तिमा आलमको निधनलाई मुस्लिम समुदाय र समग्र नेपाली समाजका लागि अपूरणीय क्षति भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “अल्लाहको इच्छा अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वमन्त्री तथा नेपाली मुस्लिम समुदायका गौरवशाली व्यक्तित्व मोहम्मद आफताब आलम साहेबको असामयिक निधन भएको समाचारले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजकतारलाई अत्यन्त मर्माहत बनाएको छ।”
आलमको निधन गत २२ कात्तिक राति साढे २ बजेतिर काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको थियो। उच्च रक्तचाप, मधुमेह र मुटुको समस्याका कारण भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ६३ वर्षीय आलमको मिर्गौला फेल भएपछि निधन भएको अस्पताल स्रोतले जनाएको छ।
विज्ञप्तिमा आलमलाई नेपाली लोकतान्त्रिक आन्दोलनका एक योद्धा, न्याय र समानताका पक्षधर तथा मुस्लिम समुदायका एक अगुवा व्यक्तित्वका रूपमा स्मरण गरिएको छ। “उहाँको राजनीतिक योगदान, सामाजिक सेवाभाव र सहिष्णु नेतृत्वले नेपाली मुस्लिम समुदायलाई सधैं प्रेरित गरेको थियो,” विज्ञप्तिमा उल्लेख छ।
समाजले दिवंगत आत्माको चिरशान्तिका लागि अल्लाहसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवार, नेपाली कांग्रेस र सम्पूर्ण मुस्लिम समुदायप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। “अल्लाह पाकले मरहुम मोहम्मद आफताब आलम साहेबलाई जन्नतुल फिरदौसको उच्च दर्जा प्रदान गर्नुहोस् र शोकाकुल परिवारलाई धैर्यता प्रदान गर्नुहोस्,” विज्ञप्तिमा लेखिएको छ।
शोक विज्ञप्तिमा समाजका अध्यक्ष अजमत अलि अहमदको हस्ताक्षर रहेको छ।
आलमको निधनले कतारमा बसोबास गर्ने हजारौं नेपाली मुस्लिमहरू स्तब्ध बनेका छन्। धेरैले सामाजिक सञ्जालमार्फत उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्4

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस