२०८२ पुष १ गते मङ्गलवार | 2025 December 16th Tuesday

लघुकथा- गर्व

– पदम बहादुर क्षेत्री”प्रदीप”

हिजोलाइ गहन अध्यन गर्दै आएका,आजसँग संघर्षरत र भोलिकोलागी चिन्तित रमेश, भुकम्पले देश तहस नहस भएकै बेला छिमेकी देशले लगाएको अघोषित नाकाबन्दी, हेपाहा प्रवृत्तिबाट सिमाको अतिक्रमण जस्ता समाचार पढेर दिक्क छन।पेशाले उनी कृषक , देशमा लत्ताकपडा देखि लिएर खाद्यन्नमा परनिर्भरता प्रति झनै चस्स चस्स घोच्ने गर्छ।

जलस्रोतको धनी देश लोडसेडिङ , इन्धनको प्रमुख समस्या हुदाहुदै प्रमुख नेताहरू आ-आफै नमिलेर,पार्टी फुटाउने, देश टुक्र्याउन खोज्ने इत्यादी कुराले झन मन अमिलो भएको बेला, ” आ….आफ्नै दुईवटा छोराहरू त घरमा
नमिलेर वाक्क पार्छन भने यो त पुरै देशको कुरा हो, सबैको सोच अलग अलग हुन्छ” भन्दै चित्त बुझाए।

हावा हुरी, अति वृष्टि, खडेरी, हुदाहुदै त हिजो त भारी असिनाले पाकेर थन्क्याउने बेलाको पूरा बालीनाली नै सखाप पार्दै उनलाई लगभग पाँच लाख जतिको क्षति गरायो।

आज बिहान दुबै छोराहरू दुईतिर फर्केर घोकन्ते विद्या पढिरहेको नियाली रहेका छन।
जेठो छोरा कृषि बिषय पढ्दै -” नेपाल कृषिप्रधान देश हो …….”
रमेश -” आ ….”
कान्छो छोरा -“हाम्रो देश प्राकृतिक सम्पदाले भरिएको छ। पर्यटकीय स्थल अनुकुल मौसम , हावापानी…”
असिनाको थुप्रोतिर हेर्दै अगाडि बढदै पुरानो पत्रीकाको नाकाबन्दी, सिमा अतिक्रमण भन्ने मुखपृष्ठमा आँखा गाड्दै रेडियो खोले । प्रसारण कार्यक्रममा मीठो साङ्गितिक धुनमा राष्ट्रिय गीत बजिरहेको छ।
“पश्चिम किल्ला काँगडा, पुर्बमा टिस्टा पुगेथ्यौ
कुन शक्तिको सामुमा कहिल्यै हामी झुकेथ्यौ”।।
प्रदीप क्षत्री
माछापुच्छ्रे -4
-लाहाचोक- कास्की

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस