२०८१ असार ३० गते शनिवार | 2024 July 13th Saturday

“बा”

प्रायजसो रात बाका आँखा ढिलोसम्म खुला हुने गर्थे।
म एक निंद निदाएर उठ्दापनि बा मध्यरातसम्म सुत्दैनथे, म मनमनै सोच्थें कि ‘बा भनेको त सुत्न नपर्ने मान्छे ‘
मपनि बा बन्छु भनेर सोच्थें।
म छिटै सुत्ने अनि ढिलोगरी उठ्ने बानीकी केटी भएको हुनाले प्राय: बासँग भेट नै हुँदैनथ्यो। म सुती सकेपछि बा घर आउने र म उठ्नुभन्दा पहिला नै सवेरै घर छोड्ने। बडो मुश्किलले हप्तामा एकदुई पटक मात्र हाम्रो भेट हुन्थ्यो।

मलाई थाहा थिएन बा हरेक दिन कहाँ जान्छन्,किन जान्छन् अनि के गर्छन् !

हातमा कहिले कुटोकोदालो , आराबन्चरो बोकेर हिंड्ने मेरा बाका मैलो हातमा उठेका ठेलाबारे पनि म त्यति बुझ्दिनथें।
आमाको काम चुल्हो कुच्चो, हाम्रो स्याहार सुसार,
हामीलाई खाना ख्वाईवरी आमा भने बाको बाटो कुरी बस्थिन्, बा कतिबेला आउँछन् अनि खाना खाएर सुत्छन, भोलि फेरि तेहि कोदालो, बन्चरो, आरा बोकेर जान्छन्, हरेक दिन को यहि नै थियो बाको नित्यकर्म।

बा को मुखबाट सुन्दापनि किंवदन्ती जस्तो लाग्ने, घरबाट घ्यु बोकेर बाले बटौलीमा रासन किन्न गएको कथा सुनाउँथे। घरदेखि बटौली हिंडेका बा पन्ध्रबीस दिनमा घर फर्किन्थे, मानामा घ्यु बोकेर गएका बाले पाथीमा नुन रासन बोकेर घर फर्किन्थे।

दाई, भाइ र म, हामी सोच्थ्यों ‘पढ्ने मान्छेले काम गरे मरिन्छ र मिठो मिठो खान पाए मात्र बाँचिन्छ’ हामी भने आफुलाई पढन्ते ठान्थ्यौं।
हाम्रो काम पढी दिने, किताब कापी किनिदेऊ बा, हामीलाई स्कुलको ड्रेस चाहियो बा, चप्पल जुत्ता, स्कुल फी, जुत्ता चप्पल, खाना खाजा यानी हाम्रा केवल मागहरु हुन्थे, हामी त केवल बा समक्ष मागहरु मात्र राख्थ्यौं, बा नाई नभन्ने हाम्रा सबै माग पुर्याई रहने, तर कसरी ? हाम्रो चाँसो त्यता कहिल्यै रहेन। हामी त नयाँ लताकपडा, कापीकिताब पाएर मख्ख हुन्थ्यौं।
बाले हाम्रा साना ठुला माग र चाहना कसरी पुरा गर्दा हुन्, कहाँ बाट हाम्रा लागि सबै जोहो गर्दा हुन् त्यो बुझ्ने बेला हाम्रो भई सकेको थिएन। दुख के हो, कुटो बन्चरो, घाँस दाउरा, बाका हातमा उठेका ठेला, मैलो लुगा र च्याउरेका गालामा उब्जेका पसिनाको अर्थ बुझ्न हामीलाई उमेरले रोकी रहेको थियो।

न कुनै जागीर, न इलम, न त खान पुग्ने यथेष्ट कमाइ र पनि कुनै कुराको कमी हाम्रा बाले कहिल्यै हुन दिएनन्। हामीलाई चाडमा राम्रो लुगा किनिदिएर आफु भने फाटेका गन्जी र इस्टकोटमा मुसुक्क हाँस्ने बा।

समयको चक्रसँगै एसएलसी दिएपछि म गाउँ छोडेर शहर लागें। उमेरको गतिसंगै मैले बिस्तारै गरिवी अभाव र मेरा बाका दुखलाई बुझ्न थालेकी थिएँ।
शहरमा ४ बर्ष अनेक संघर्ष पछिको असफलताले मलाई परदेश भासिन बाध्य तुल्यायो, र म १५ बर्षदेखि विदेशमा संघर्ष गरिरहेकी छु।
हाम्रा बाले गरेको दुखलाई सम्झेर मन भक्कानिन्छ,अनि अठोट गर्छु, अब बालाई सुख दिनु पर्दछ शहरमा राखेर । म बालाई बेलाबेला भन्नेपनि गर्छु “अब काम नगर्नुस, हामी छौं नि; अब हामीले सुख दिन्छौं”
बा त आखीर बा हुन्, दुखलाई दुख नमान्ने, हातपाखुरा चल्दासम्म परिश्रम गर्नु पर्छ भन्छन्। भन्छन “हात पाखुरा चल्दासम्म काम नगरी त्यसै बस्न हुँदैन, नसके पाल्ने तिमीहरु नै त हौ ‘

“बा गाउँमा त्यति सुविधापनि छैन, त्यसै बस्न मन नलागे बरु बुटवलमा एउटा सानो पसल चलाएर बस्नुस्” बालाई फोनमा मैले भनें

बाले प्रतिप्रश्न गर्दै सोधे “नानी बुटवल भनेको त्यै बटाैली हैन र ?”
“हो बा”
बाले रासनका लागि बटौली धाउँदाका बिगत सम्झिन्दै भने
“अहो त्यस्तो गर्मी ठाउँ, औलो लाग्छ नानी, त्यो ठाउँ बस्न लायक हो र; भैगो गाउँ नै प्यारो छ मलाई”
बाले देखेको उहिलेको बटौली अहिले ठुलो शहर भएको उनलाई थाहा छैन, बालाई अहिलेपनि घाँस दाउरा थाहा छ, खेतबारी, बन जंगल र एकथान गाई बाख्रा थाहा छ।

मेरा बालाई शहरमा कोहि कसैका छिमेकी हुन्नन् भन्ने लाग्छ। दुख सुखमा काम लाग्ने छिमेकी नभएको शहरलाई बाले सुचाउँदैनन्। ऐचो पैंचो नचल्ने ठाउँलाई मान्छेले शहर भन्छन र त्यहाँ सुख पाइन्छ भन्ने भ्रम छ। मेरा बालाई त्यो पटक्कै मन पर्दैन।

“भैगो नानी “मलाइ यहि स्वर्गमा बाँचेर मरेपछि स्वर्न नै जानु छ। शहरमा पसेर सुख पाउँछौ नभनेस अबदेखि” मेरा बा।

म बाका कुरा सुनी रहें र मनन गरी रहें।
मेरा बा भन्छन् ” म त यहाँ इष्टको धनी छु, शहरमा सानो पसलको साहुभन्दा धनी, बरु पैसा कमाएर गाउँ आइज तँ पनि”
स्वर्गमा बाँचेर स्वर्ग जाने मेरो बाको सपना पुरा होस्!

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस