२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

युएई माथिको रोमाञ्चक जीतसँगै नेपालको १००औं अन्तर्राष्ट्रिय जित : बलिङमा निर्भरता र ब्याटिङमा वृहत सुधारको खाँचो

दोहा, कतार

नेपालले आज संयुक्त अरब इमिरेट्स (UAE) लाई १ रनले पराजित गर्दै आफ्नो अन्तर्राष्ट्रिय टी–२० इतिहासको १००औं जित दर्ता गर्‍यो। तर यो जितले जति उत्साह जगायो, त्यत्तिकै प्रश्न पनि नेपालको ब्याटिङ क्षमतामाथी उठेको छ।

आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दा पावरप्लेमा राम्रो सुरुवात गरेको देखियो। ओपनर आसिफ शेखले ५१ रनको पारी खेले र प्रारम्भिक चरणमा युएईका बलरहरूलाई दबाबमा राखे। तर त्यसपछि ब्याटिङको लय थामिन सकेन। १० औं ओभरपछि, गुलशन झा बाहेक अन्य खेलाडीहरूले एकपटक पनि बाउन्ड्री प्रहार गर्न नसक्नु टी–२० फर्म्याटको दृष्टिले चिन्ताजनक आँकडा हो।

टी–२० क्रिकेटमा जहाँ प्रत्येक ओभर सुनको मूल्य बराबर हुन्छ, नेपालका मध्य–क्रमका ब्याट्सम्यानहरू स्थिर रनरेट कायम राख्न असफल देखिए। मध्यक्रममा कुशल र अनुभवी खेलाडी हुँदाहुँदै पनि स्ट्राइक रोटेसन कमजोर रहनु, जोखिमयुक्त असफल सट चयन,र इनोभेटिभ ब्याटिङको कमी जस्ता कारणले नेपालले २० ओभरमा मात्र १४० रन जोड्न सक्यो, जुन आजको पिच र सन्दर्भमा “डिफेन्डेबल” स्कोर हुँदै होइन। शुरुवाती खेलको लय हेर्दा नेपालको स्कोर आँकडा १६० को आसपासमा पुग्नु पर्ने थियो।

युएई विरुद्धको खेलपनि बलिङले जितायो, तर हरेक  पटक भाग्यले साथ नदिन सक्छ, नेपालको बलिङ एकपटक फेरि “उद्धारकर्ता” सावित भयो।

दिपेन्द्र सिंह ऐरी को तीन विकेट र अन्तिम ओभरमा देखिएको संयमता उल्लेखनीय थियो। साथै, सन्दीप लामिछाने र सोमपाल कामीको नियन्त्रणयुक्त बलिङले खेललाई अन्तिम क्षणसम्म जीवित त राख्यो, तर यथार्थ के हो भने नेपालले पछिल्ला धेरै खेलमा बलिङको भरमा मात्र जित्दै आएको छ। यदि बलिङको यस्तो निर्भरता निरन्तर रह्‍यो भने, विश्वस्तरीय टोलीहरूसँग टक्कर लिन कठिन हुनेछ। किनकी सधैंभरि बलिङले मात्र हरेक खेलमा जादू गर्न सक्दैन।

अबका दिनहरुमा ब्याटिङमा सुधार ल्याउन नयाँ ब्याट्सम्यानहरूलाई अवसर दिई “इनोभेटिभ सट्स” खेल्न प्रोत्साहन गर्नुपर्ने बेला आएको छ। अन्तिम ५ ओभरमा नेपालले आज मात्र ३३ रन जोड्न सकेको थियो, जुन चिन्ताको विषय हो। खेलको परिस्थितिअनुसार कप्तानले आक्रमक ब्याट्सम्यानलाई माथि पठाउने रणनीति अपनाउन जरुरी छ

नेपालको आजको युएई माथिको जित ऐतिहासिक र गर्वको क्षण हो, तर यो जितले एउटा सन्देश पनि दिन्छ: “केवल बलिङको सहारामा टुर्नामेन्ट जितिँदैन।”

नेपालले क्रमश: दोस्रो र समग्रमा तेस्रोपटक टी–२० विश्वकपको ढोका ढकढक्याउन लागेको यस अवस्थामा नेपालले आफ्नो ब्याटिङ दृष्टिकोण पुनः मूल्यांकन गर्न जरुरी छ। यदि पावरप्लेपछि स्थिर रनरेट र निरन्तर आक्रमण गर्ने क्षमता विकास गर्न सकेन भने, बलिङको सहारामा मात्र विश्वस्तरीय सफलता सम्भव देखिँदैन भन्ने कुरामा ध्यान पुगे नेपाल न केवल विश्वकप खेल्ने छ, बरु जीतका आयामहरु थप्न सक्ने छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस