
दोहा-नेपाली महिला समाज कतारले १४ औं स्थापना दिवस मनाएको छ ।
समाजले सम्मान तथा सचेतना कार्यक्रम गरि १४ औं स्थापना दिवस मनाएको हो ।
शुक्रवार मुन्ताजामा रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा समाजकी अध्यक्ष लोक माया केसीको सभापतित्व तथा संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक रेखा राईको प्रमुख आतिथ्यमा स्थापना दिवसको अवसरमा”सम्मान तथा सचेतना” कार्यक्रम गरिएको हो ।
स्थापना दिवसको अवसरमा केक काटेर सुरु भएको कार्यक्रमम संस्थापक अध्यक्ष,सदस्य, मानार्थ सदस्य, समाजका संरक्षक,सल्लाहकार तथा सहयोगीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
स्थापना कालदेखी समाजसँग जोडिएर साथ सहयोग गर्दै आएका मानार्थ सदस्य तिल विक्रम थेबे, छम बहादुर परियार, मुनाफ मिया लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा वक्ताहरूले संस्था स्थापना गर्दा आई परेका दुख, पिडा, बाधा,अवरोधहरूलाई स्मरण गर्दै आगामी दिनमा समाज थप सफलता हासिल गर्न सफल होस भनि शुभकामना व्यक्त गरेका थिए।
सचेतना कार्यक्रमको प्रशिक्षक अमिना खानले कार्यक्रमको बारेमा प्रस्ट पार्दै नेपाली दिदीबहिनीहरूलाई कतारको नियम र कानुनको पालना गर्न आग्रह गर्दै नेपाली चेलीबेटीहरूको लागि कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरूसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्न आग्रह गरिन।
धेरै जसो दिदिबहिनीहरुले घर देशबाट परदेश आउनुको कारण सबै भुलेर यहाँ क्षणिक समयको लागी रगं रमाइलोको कारण धेरै जना डिप्रेसनको सिकार तथा विविध समस्यामा परेको बताउदैं कतारमा श्रम गरिरहेका दिदी बहिनीहरूलाई कुनै दुख समस्या परेमा नेपाली महिला समाजसँग सम्पर्क गर्न खानले आग्रह गरिन।
प्रमुख अतिथि रेखा राईले प्रवासमा रहेका दिदीबहिनीहरूलाई एकतामा बाँध्न र हामीलाई आइपर्ने समस्याहरूको समाधान गर्नको निमित्त समाजको स्थापना गरेको बताउँदै समाजलाई सबैले जगेर्ना गर्न सबैको दायित्व रहेको र स्थापना दिवसको अवसरमा समाजलाई स्थापना गर्न सहयोग पुऱ्याउने संस्थापकहरू तथा वर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरिन ।
कार्यक्रमलाई समापन गर्दै सभापति केसीले आफ्नो कार्यकालमा संस्थापक देखि सल्लाहकार संरक्षक तथा अग्रजहरूलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्दै सम्मानि हुने सबै अग्रजहरूलाई हार्दिक बधाई समेत
ज्ञापन गर्दै आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा रहेको बताईन।
समाजकी उपाध्यक्ष शुस्मा कटुवालले स्वागत गरेको कार्यक्रमको सहजीकरण महासचिब मेनुका खतिवडा भण्डारी र सचिव कविता खत्रीले मिलेर गरेका थिए ।