दोहा । “बिरालो कालो होस् वा सेतो, मुख्य कुरा उसले मुसा मार्छ कि मार्दैन भन्ने हो।” यो प्रसिद्ध उक्ति चीनीया क्रान्तिकारी नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओजेडुङ (माओत्सेतुङ) को हो। माओको यो भनाइ केवल रूपक होइन, त्यो उनको व्यावहारिक दर्शन “प्राग्मेटिज्म” को सार हो। माओले यसद्वारा सिद्धान्त वा नाराभन्दा पनि वास्तविक परिणाम, कार्यक्षमता र व्यवहारिक प्रभावलाई प्रमुख मानेका थिए। उनका दृष्टिमा, समाजवादको मूल उद्देश्य उत्पादन, प्रगति र जनजीवन सुधार हो — त्यसैले “कसरी” भन्दा “के परिणाम आयो” भन्ने कुरा महत्वपूर्ण हुन्छ।
यो भनाइ सन् १९६० को दशकदेखि चीनमा चर्चित रहँदै आएको हो। त्यसबेला चीन समाजवादी निर्माणको कठिन यात्रामा थियो, र माओले जनतालाई बुझाउन खोजेका थिए, विकासको बाटो चाहे राज्य–नियन्त्रित होस् वा बजार–आधारित, अन्ततः लक्ष्य जनता समृद्ध बनाउने हुनुपर्छ।
तर यही व्यावहारिक दर्शनलाई अहिलेका नेपाली वामपन्थी नेताहरूले केवल “भाषणको आकर्षण” का रूपमा लिएका छन्। उनीहरूले माओको दर्शनलाई उद्धृत गर्छन्, तर व्यवहारमा त्यसको उल्टो गर्छन्। माओको विचारले नतिजालाई प्राथमिकता दिन्छ, तर हाम्रा वाम नेताहरूको नतिजा भने स्वार्थ, सत्ता र विभाजनको पराकाष्ठा मात्र हो।
नेपालका वामपन्थी दलहरूको नाम सुन्दा लाग्छ देश समाजवादको ढोकैमा पुगेको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले) लगायतका वामपन्थी दलहरू सबैले आफूलाई समाजवादको वाहक दाबी गर्छन्। तर व्यवहारमा ती सबै दल पूँजीवादी जीवनशैली, शक्ति–केन्द्रित राजनीति र नातावादी संस्कृतिमा डुबेका छन्।
समाजवादको सिद्धान्त समानता, श्रमको सम्मान र सामूहिक हितमा टेकेको हुन्छ। तर नेपालका वाम नेताहरू महँगो गाडी, महल, ठेक्का–व्यवसाय, र विशेषाधिकारको जालमा बाँधिएका छन्। जनताको जीवनस्तर सुधार्नेभन्दा पनि आफ्नो जीवनस्तर कसरी उकास्ने भन्नेमा उनीहरू बढी चिन्तित छन्।
यो नै कारण हो — “नाम कम्युनिस्ट, काम पूँजीवादी” भन्ने व्यंग्य नेपाली वाम राजनीति सन्दर्भमा सान्दर्भिक बनेको छ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकबेला मिलेर एसियाकै ठूलो कम्युनिस्ट पार्टी बनेका थिए। त्यो एकता ऐतिहासिक भनिएको थियो — जनताले नयाँ राजनीतिक स्थायित्वको आशा गरेका थिए। तर केही वर्षमै त्यो एकता टुट्यो, आरोप–प्रत्यारोपको भेल बन्यो, र जनताका सपनामा फेरि निराशाको बादल मडारियो र आज त्यो एकता कालो इतिहास बनी सकेको छ।
आज फेरि नयाँ “वाम एकता” हुँदैछ, नेकपा माओवादी, नेकपा समाजवादी र अन्य टुक्रा–टुक्रा समूहहरूको एकताबाट “नेपाली कम्युनिस्ट पार्टी बन्दैछ। तर इतिहासले सिकाएको पाठ के हो भने, एकताको नाममा एकता सफल हुँदैन। विचारको मेल बिना स्वार्थको मेल कुनैपनि बेला भत्किन सक्छ।
माओवादी केन्द्रले आजसम्म माओको नाम जाप गर्दै आएको थियो/छ, तर ऊ माओको समाजवादी मार्गभन्दा धेरै टाढा पुगीसकेको छ। अहिलेको माओवादी एकता खोजाइमा विचारभन्दा शक्ति बाँडफाँडको गणित हाबी छ। माओले भनेको व्यवहारिकता यहाँ नतिजा–मुखी नभई स्वार्थ–मुखी बनेको छ।
माओको व्यावहारिकतावादी दर्शनले भनेको हो — समाजवाद स्थापनाको अन्तिम लक्ष्य जनता समृद्ध बनाउनु हो। त्यसका लागि नीति लचिलो हुन सक्छ, तर चरित्र साँचो हुनुपर्छ। उत्पादन वृद्धि, श्रमको मूल्य, र भ्रष्टाचारमुक्त शासन नै समाजवादको मापन हो। तर नेपालमा त्यो सोच उल्टो छ — यहाँ नीति कठोर, चरित्र लचिलो छ। वाम खासगरी माओवादी नेताहरूले माओको नाम त लिन्छन्, तर उनको आत्मा बिर्सन्छन्। पार्टीभित्र विचार होइन, व्यक्ति प्रधान हुन्छ; आलोचना होइन, चाकडी संस्कृतिको विकास हुन्छ। जनताको अधिकारका कुरा घोषणापत्रमा हुन्छ, व्यवहारमा होइन।
वामपन्थी दलहरू अहिले गहिरो विश्वासको संकटमा छन्। उनीहरूको भाषण समाजवादी हुन्छ, तर शासन शैली पूँजीवादी। उनीहरूको मञ्च मजदुरका नाममा भरिन्छ, तर नीतिले ठेकेदार र व्यापारीलाई लाभ पुर्याउँछ।
यसरी वामपन्थी आन्दोलनले आफ्नो नैतिक धरातल गुमाउँदै गएको छ। जनतामाझ उनीहरूको विश्वसनीयता खस्कँदै छ। यही कारण आज जनताको मनमा प्रश्न उठ्छ — “यी वामपन्थी दलहरू साँच्चै जनताको प्रतिनिधि हुन् कि केवल पद र लाभका व्यापारी?
यदि माओवादी वा वाम आन्दोलनलाई पुनः विश्वसनीय बनाउन छ भने, अब आत्मसमीक्षा अनिवार्य छ। माओको दर्शनलाई केवल नारामा होइन, व्यवहारमा उतार्नुपर्नेछ। जनताको पक्षमा ठोस काम, पारदर्शिता, र सादगीपूर्ण नेतृत्वले मात्र वाम आन्दोलन पुनर्जीवित हुन सक्छ।
माओवादी केन्द्र वा अन्य वाम दलहरूले बुझ्नुपर्ने कुरा के हो भने — माओको “कालो वा सेतो बिरालो” को दर्शनले स्वार्थ होइन, परिणाममूलक कामको मूल्यांकन गर्छ। जनताको जीवनस्तर नबढाई, बेरोजगारी नघटाई, भ्रस्टाचार नरोकी समाजवादमा पुगिन्छ भन्ने विश्वास गलत हो।
माओको प्रसिद्ध भनाइ — “बिरालो कालो होस् वा सेतो, मुख्य कुरा उसले मुसा मार्छ कि मार्दैन” यो केवल नीति होइन, नैतिक मापन पनि हो। यदि नीति र सिद्धान्तले जनताको जीवनमा सुधार ल्याउन सकेन भने दलको नाम, सिद्धान्त वा झण्डा जे र जस्तो भएपनी फरक पर्दैन ।
नेपालका वाम दलहरूले नाममा माओवादी, मार्क्सवादी वा समाजवादी शब्द जोडे पनि, यदि उनीहरूको कार्यशैली पूँजीवादी, विलासी र भ्रष्ट नै रहन्छ भने त्यो समाजवाद होइन — सत्ता–सुविधाको खेल मात्र हुन्छ।
एमाले र माओवादीको एकताबाट कुनै समय जनतामा ठूलो आशा जागेको थियो, तर त्यसको परिणाम निराशा भयो। अहिले फेरि “एकताको नाममा एकता” गरिँदैछ। तर विचारको एकता, नैतिकताको एकता र जनसेवाको भावना बिना त्यो प्रयास फेरि असफल हुनेछ।
त्यसैले, अहिलेको वाम आन्दोलन र एकताका लागि माओको सन्देश अझै प्रासंगिक छ “नाम होइन, कामले मूल्य निर्धारण गर्छ।” र “सिद्धान्त होइन, परिणाम जनताको न्यायाधीश हो।”
नेपालका वाम दलहरूले यदि यो सन्देश बुझ्न सके भने मात्र मात्र उनीहरू साँचो अर्थमा समाजवादको बाटो भेट्ने छन्।