२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

५८ औं देशमा एनसीसी निर्वाचन सम्पन्न: आइसीसीको निर्वाचनमा कतारबाट कति प्रतीनिधि ?

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशन आगामी अक्टोबरमा हुने तय भइसकेको छ। एनसिसिहरू (राष्ट्रिय समन्वय परिषद्) को निर्वाचन सम्पन्न भएसँगै अब सबैको ध्यान नयाँ कार्यसमिति चयनतर्फ केन्द्रित भएको छ।

गत महाधिवेशनकै जस्तै यसपटक पनि ५८ एनसिसिहरूले निर्वाचन सम्पन्न गरिसकेका छन्। यिनै देशहरूबाट करिब ३,४०० प्रतिनिधिहरू १२औं महाधिवेशनका लागि चयन हुनेछन्, जसले संघको आगामी नेतृत्व चयन गर्नेछन्।

प्रतिनिधि चयनको आधार
एनआरएनएको विधानअनुसार, प्रतिनिधिहरूको संख्या सम्बन्धित एनसिसिमा पञ्जिकृत सदस्यहरूको आधारमा निर्धारण गरिन्छ।
सर्वाधिक प्रतिनिधि संख्या भएका मुलुकहरूमध्ये जापानबाट २३३, अष्ट्रेलियाबाट २२८, अमेरिकाबाट २०८, क्यानडाबाट १६८, कतारबाट १६०, युकेबाट १५० र युएईबाट १४७ प्रतिनिधि चयन हुनेछन्।

कतारबाट २०२५–२०२७ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ४ हजार ६०३ कायम रहेको छ  ।

१००० सदस्यसम्म भएका एनसिसिहरूले १०:१ को अनुपातमा प्रतिनिधि पठाउन पाउनेछन्।

आवेदन प्रक्रिया
प्रतिनिधिका लागि आवेदन स्मार्ट एनआरएनए एप (Smart NRNA App) मार्फत अगस्ट १० देखि २० सम्म दिन सकिनेछ। सबै पञ्जिकृत सदस्यहरूलाई आवेदन दिन आह्वान गरिनेछ। प्राप्त आवेदनहरू एनसिसिहरूले प्राथमिकताको आधारमा अध्ययन गरी प्रतिनिधि छनोट गरेर आइसीसी (ICC) मा पठाउनेछन्।

एनसिसिले चाहेमा १० प्रतिशतसम्म प्रतिनिधि प्राथमिकताको बाहिरका उम्मेदवारहरूबाट पनि छनोट गर्न पाउने व्यवस्था छ।

स्वतः प्रतिनिधिमा को–को?
एनआरएनएको विधानअनुसार केही पदाधिकारीहरू स्वतः केन्द्रीय प्रतिनिधिमा पर्नेछन्। तिनमा निम्न समूह समावेश छन्:

हालका आइसीसी संरक्षक, सल्लाहकार तथा मानार्थ परिषद्का सदस्यहरू

वर्तमान पदाधिकारी तथा आइसीसी सदस्यहरू

एनसिसिका निवर्तमान अध्यक्षहरू

नव निर्वाचित एनसिसि अध्यक्षहरू

नव निर्वाचित आइसीसी सदस्यहरू

उनीहरूलाई प्रतिनिधिको कोटाभित्र गन्नु नपर्ने स्पष्ट व्यवस्था विधानमै गरिएको छ।

अब प्रतिनिधिहरूको टुंगो लागेसँगै अक्टोबरमा हुने महाधिवेशन र नेतृत्व चयन प्रक्रियामा गति आउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८२ साउन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस