२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

भट्टराई कुलवंश प्रतिष्ठान कतारको प्रथम अधिवेशन सम्पन्न: अध्यक्षमा जीवन भट्टराई सर्बसहमत चयन

दोहा, कतार।

भट्टराई कुलवंश प्रतिष्ठान प्रवास सम्पर्क समिति कतारको प्रथम अधिवेशनले जीवन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। शुक्रवार कतारको ग्राण्ड मलस्थित सिलौटो रेस्टुरेन्टमा सम्पन्न प्रथम अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको हो।

 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दीप भट्टराई, महिला उपाध्यक्षमा हिमा भट्टराई, सचिवमा विकास भट्टराई, महिला सहसचिवमा बबिता भट्टराई, सहसचिवमा सूर्य भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम भट्टराई, सह कोषाध्यक्षमा कमला भट्टराई र प्रवक्तामा बलिन्द्र भट्टराई चयन भएका छन्। त्यसै गरी सदस्यहरूमा मोहन भट्टराई, युगान्त भट्टराई, राज भट्टराई, सुनिता भट्टराई, शुष्मा भट्टराई, प्रविणा भट्टराई, सुरेश भट्टराई, माया भट्टराई, शान्तिलाल भट्टराई, बुनूँ भट्टराई, रामु भट्टराई, शोभा भट्टराई,सुनिता भट्टराई र पवित्रा भट्टराई रहेका छन्।

लेखा समितिको संयोजकमा अनमोल भट्टराई तथा सदस्यमा नम्रता भट्टराई र केशव भट्टराई चयन भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक प्रेमप्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथ गराएका थिए।

समितिका अध्यक्ष नवीन केसी भट्टराईको अध्यक्षता तथा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका कार्यवाहक अध्यक्ष रविन मगरको प्रमुख आतिथ्यमा अधिवेशनको खुला सत्र सम्पन्न भएको थियो। कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरूले कुल, वंश, पितृ परम्परा र संस्कृतिको संरक्षण गर्दै समुदायका सदस्यलाई एकताबद्ध बनाउने उद्देश्यले संस्था स्थापना गर्नु सकारात्मक कदम भएको बताए। उनीहरूले भट्टराई बन्धुहरूबिच आपसी सद्भाव, सहयोग र एकता अभिवृद्धि गर्नुका साथै सांस्कृतिक पहिचान र सम्पदाको संरक्षणमा प्रतिष्ठानले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। संस्था स्थापना गर्नु मात्र पर्याप्त नहुने भन्दै उनीहरूले यसलाई निरन्तर सक्रिय राख्न, संस्थागत विकास गर्न र सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे।

प्रमुख अतिथि मगरले कुलवंश, संस्कार र संस्कृतिको संरक्षण गर्दै समुदायलाई एकताबद्ध बनाउने प्रतिष्ठानको प्रयासको प्रशंसा गर्दै यसको निरन्तरता र सामाजिक योगदानका लागि शुभकामना व्यक्त गरे। सभाध्यक्ष नवीन केसी भट्टराईले कतारमा रहेका भट्टराई समुदायका सदस्यलाई आवश्यक पर्दा सहयोग जुटाउने र आपसी सहकार्यलाई सहज बनाउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको बताए। उनले संस्थाको स्थापना तथा विकासमा योगदान पुर्‍याउने अग्रज, संस्थापक, कार्यसमिति, कलाकार र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैको साथ र सहयोगमा प्रतिष्ठानलाई अघि बढाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने कलाकारहरूलाई नगद पारिश्रमिक सहित सम्मान गरिएको थियो l दिल भट्टराईले स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सञ्चारकर्मी नम्रता भट्टराईले सहजीकरण गरेकी थिइन्। नयाँ नेतृत्व चयनसँगै कतारमा रहेका भट्टराई बन्धुहरूबिच एकता, आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै कुलवंश, संस्कृति तथा परम्पराको संरक्षणमा प्रतिष्ठानले थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस