
दोहा ।हालै नेकपा (माओवादी केन्द्र) निकट नेपाली जनप्रगतिशील मञ्च, कतारका अध्यक्ष समेत रहेका राज देवकोटा र अर्को पक्ष रघु शर्माबीच सामाजिक सञ्जालमा आदानप्रदान भएका तीक्ष्ण अभिव्यक्तिहरूले प्रवासी राजनीतिक वृत्तमा चर्चा मात्र होइन, असहजता पनि सिर्जना गरेको छ।
फेसबुकमा सार्वजनिक ती पोस्टहरूमा प्रयोग गरिएका शब्द, व्यङ्ग्य र भौतिक आक्रमणसम्मको संकेत देखिँदा राजनीतिक असहिष्णुताको खतरनाक रूप सतहमा आएको अनुभूति हुन्छ।
राज देवकोटाको पोस्टमा प्रयोग भएका शब्दहरू “भिडको बिच्चमा बसेर बाचिस हिजो नत्र माइकले नै खान्थिस… बाघ आराम गरेको हुन्छ… जति बेला पनि रेड जोनमा पर्न सक्छस् भन्ने जस्ता वाक्यांशहरूले धम्कीपूर्ण र अपमानजनक आशय प्रष्ट पार्छन् ।
त्यसैगरी रघु शर्माको प्रतिक्रियात्मक पोस्टमा पनि “तेरो औकात के हो बुझ्ने भए आइजा… दम छ भने आइजा रेडी छु” जस्ता शब्दहरूले उक्साउने र चुनौती दिने शैली झल्काउँछ।
दुबै पोस्टमा व्यक्तिगत आक्रमण, व्यङ्ग्य र आत्म श्रेष्ठताको अभिव्यक्ति हावी देखिन्छ। राजनीतिक विमर्श वा विचार आदानप्रदानभन्दा पनि व्यक्तिगत अहंकार र शक्ति प्रदर्शनको प्रतिस्पर्धा झल्किएको छ।
कतार लगायतका खाडी मुलुकमा रहेका नेपाली राजनीतिक संगठनहरू देशभित्रका पार्टीहरूको प्रतिनिधि भएर काम गर्छन्। यिनको मूल उद्देश्य भनेको प्रवासी नेपालीबीच एकता, अधिकार र पहिचानको पक्षमा साझा आवाज उठाउने हो, तर पछिल्लो घटनामा देखिएझै, नेताहरूबीचको विवाद संगठनको साखमा समेत आघात पुर् याउँछ।
यस्ता अभिव्यक्ती तथा आक्रोशले समाजमा ‘राजनीतिमा असहिष्णुता, गाली र धम्की सामान्य कुरा हो भन्ने सन्देश जान्छ । यस्तो संस्कृतिले युवा पुस्तामा सामाजिक तथा राजनीतिप्रति निराशा र वितृष्णा बढाउँछ ।
सामाजिक सञ्जालमा धम्की, मानहानी वा उक्साउने खालको पोस्ट केवल नीतिगत गल्ती होइन, कतिपय अवस्थामा कानूनी अपराध पनि हुन सक्छ ।
कतारजस्तो देशमा यसले आप्रवासीको आवास अनुमति, संगठनको वैधानिकता र व्यक्तिगत प्रतिष्ठामा समेत असर पार्न सक्छ। त्यसैले सार्वजनिक पदमा रहेका व्यक्तिले संयम, मर्यादा र संस्थागत जिम्मेवारीको भावना राख्नु अत्यावश्यक छ।
राजनीतिमा असहमति स्वाभाविक कुरा हो। तर असहमतिको अभिव्यक्ति संवेदनशील, सभ्य र तर्कपूर्ण हुनुपर्छ । भाषा जितको माध्यम हो, आक्रमणको होइन। भौतिक धम्की, व्यक्तिगत अपमान र अनादरको संस्कृति माओवादी आन्दोलनले उठाएको “नयाँ जनसंस्कृति” को मुल भावना सँग मेल खाँदन।
सामाजिक सन्जालमा आएका राज देवकोटा र रघु शर्माको विवाद केवल दुई व्यक्तिको झगडा होइन, यो प्रवासी राजनीतिमा बढ्दो असहिष्णुता, व्यक्तिगत द्वेष र संगठनात्मक अनुशासनहीनताको प्रतिबिम्ब हो। अतः सामाजिक सन्जालको दुरुपयोग गरेर भन्दा दुबै पक्ष, नेतृत्व र संयन्त्रहरूले तत्काल संवाद र आत्मसमालोचनाको वातावरण बनाउनु पर्दछ।
नेता तथा अभियन्ताहरूले सामाजिक सञ्जालमा मर्यादित व्यवहारको अभ्यास गर्नु पर्दछ। र सम्पूर्ण प्रवासी समुदायले “भिन्न विचार भए पनि साझा इज्जत जोगाऔं भन्ने सन्देश ग्रहण गर्न सक्नु पर्दछ।
राजनीति विचारको प्रतिस्पर्धा हो, वैमनस्यताको होइन। सचेत अभिव्यक्ति नै सभ्य समाजको पहिचान हो भन्ने सन्देश प्रवाह गर्न सबैमा सदबुद्धी प्राप्त होस्!